काठमाडौं – चलचित्र विकास बोर्डले घरेलु फिल्मको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पु-याएका सात जना महिला फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गरेको छ। सम्मानित हुनेमा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी, र मेकअप कलाकार शोभा श्रेष्ठ रहेका छन्।
तीन दिने महिला चलचित्र महोत्सवको समापनका अवसरमा यी महिला स्रष्टालाई सम्मान गरिएको हो । महोत्सवको अन्तिम दिन सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन्।

महोत्सवको दौरान ऐतिहासिक नेपाली फिल्म ‘सिन्दूर’को प्रदर्शन गरिएको थियो, जसका कलाकारहरूको मुहारचित्र ललितकलाका विद्यार्थीहरूले तयार पारेका थिए। महोत्सवको दोस्रो दिन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
महिला फिल्मकर्मीहरूको योगदानलाई उजागर गर्न महोत्सवमा महिला स्रष्टाहरूले निर्माण गरेका लघु चलचित्रहरूको प्रदर्शनी पनि गरिएको थियो। साथै, अभिनेत्री रेखा थापा र स्वस्तिमा खड्कासँग विशेष छलफल पनि आयोजना गरिएको थियो। समापनका दिन महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मंचन गरियो, जसले महोत्सवलाई अझ विशेष बनायो।
चलचित्र विकास बोर्डको इतिहासमा पहिलोपटक रेड कार्पेट बिछ्याएर अतिथिहरूलाई स्वागत गरिएको थियो, जसले कार्यक्रमलाई भव्य र आकर्षक बनाएको थियो। अध्यक्ष दिनेश डिसीको पहलमा यस प्रकारको तामझामको आयोजन गरिएको थियो।

News Filmy Newsportal / Nepal