काठमाडौं – गायक सुशान्त केसी ले आफ्नो बहुप्रतीक्षित कन्सर्ट ‘सुशान्त केसी लाइभ इन नेपाल’ का लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विशेष निमन्त्रणा दिएका छन्। आगामी शनिबार (फागुन २४ गते) भक्तपुरको सल्लाघारीमा आयोजना हुने यो कन्सर्ट सुशान्तको साढे २ वर्षपछि काठमाडौं उपत्यकामा हुन लागेको पहिलो प्रस्तुति हो।
गायक केसी हाल कन्सर्टको तयारीमा व्यस्त छन्। आयोजक टिमले १५ हजारभन्दा बढी दर्शकको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ। साथै, कार्यक्रममा अन्य चर्चित कलाकार तथा व्यक्तित्वहरूको उपस्थिति गराउने योजना रहेको छ।
यसै क्रममा, गायक सुशान्त केसीले मेयर बालेनलाई भेटेर निमन्त्रणा दिएका हुन । । बालेन कन्सर्टमा सहभागी हुने वा नहुने विषयमा औपचारिक निर्णय नआएको भए पनि, सुशान्तले सामाजिक सञ्जालमार्फत उनको उपस्थितिको आशा व्यक्त लेखेका छन् –
“मेयर बालेन शाहसँग राम्रो कुराकानी भयो। र्यापदेखि जिम्मेवारीसम्म। वास्तवमै लिजेन्ड। काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो। आशा छ कन्सर्टमा भेट्नेछु।”
मेयर बालेनको उपस्थिति कन्सर्टलाई थप विशेष बनाउने अनुमान गरिएको छ। नेपाली संगीतप्रेमीहरूका लागि यो कन्सर्ट स्मरणीय क्षण हुने अपेक्षा गरिएको छ।