काठमाडौं – नेपाली सिनेमा उद्योग यतिखेर सुटिङको चटारोमा छ। यहि क्रममा अभिनेत्री बर्षा राउत र अभिनेता नाजिर हुसेनलाई श्रीमान-श्रीमतीको भूमिकामा प्रस्तुत गर्न लागिएको फिल्म ‘कल्ली’ पनि आजदेखि फ्लोरमा गएको छ। ३५ दिनको सुटिङ सेड्युल तयार पार्दै, फिल्म यूनिट छायांकनका लागि मैदानमा उत्रिएको हो ।
काठमाडौंमा केही दृश्य सुट गरेपछि कल्ली टिम जुम्ला पुग्नेछ, जहाँ फिल्मको मुख्य कथावस्तु चित्रित हुनेछ। लक्ष्मण सुनारको निर्देशन रहने फिल्ममा बर्षा र नाजिरसँगै सौगात मल्ल, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, भटभटे माइला (बेगम नेपाली) र सिक्किमेली अभिनेता उत्तम प्रधानले अभिनय गर्दैछन्। महेश दवाडीको लेखनमा बनेको फिल्ममा किरण नेपाली प्रस्तुतकर्ता रहेका छन् भने हिमाल कडरिया, अमला देवी राई र सरोज नेपाली निर्माता हुन्। छायांकनको जिम्मा निसेश पौडेलले लिएका छन्।
तर, ‘कल्ली’ मात्र होइन, नेपालभर अहिले फिल्म सुटिङले तिव्रता पाएको छ। पूर्वको धनकुटादेखि पश्चिमको रोल्पासम्म, सुटिङ यूनिटहरू व्यस्त देखिन्छन्।
देशभर छायांकनको लहर
पूर्वी पहाडी जिल्ला धनकुटामा, लोकप्रिय टेलिचलचित्र ‘सक्किगोनी’ मा ‘काकु’ पात्रका रूपमा चर्चित दीपक प्रसाद आचार्य डेब्यू फिल्म ‘परान’ कोनिर्देशनमा जुटेका छन्। उनको फिल्मको सुटिङ गत शुक्रबार फागुन ९ गतेबाट सुरु भएको छ। अर्कोतर्फ, पश्चिमी पहाडी जिल्ला रोल्पामा पल शाह बेनिशा, हमाल र नीति शाहलाई मुख्य भूमिकामा लिएर ‘मोहर’ को छायांकन जारी छ। काठमाडौंमा सुटिङ सकेपछि टिम रोल्पा पुगेको हो। फिल्मलाई ओम प्रतिकले निर्देशन गरिरहेका छन ।

यसैगरी पोखरामा भने, अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने, र दयाहाङ राईलाई निर्देशक दिनेश राउतले ‘एक्सन कट’ भन्दै व्यस्त राखिरहेका छन्।
त्यसैगरी, काठमाडौंमा भिनेता अनमोल केसी अभिनीत ‘जेरी अन टप’ को छायांकन चार महिनादेखि चलिरहेको छ। उता, टंक बुढाथोकीले अशोक दर्जी, नीता ढुंगाना, सरोज खनाल लगायत कलाकारलाई लिएर ‘मन विनाको धन’ को सुटिङ गत फागुन २ गतेदेखि सुरु गरेका छन्।

यसैगरी काभ्रेमा हरिबहादुरको जुत्ताको छायाँकन चलिरहेको छ जहाँ हरिबंश आचार्य सहित स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका लोकप्रिय कलाकारहरु एक्सन कटमा विजि छन । त्यसैगरी विरामी भएर निको भएपछि निर्देशक तुलसी घिमिरेले रोकिएको पहाडको छायाँकन गत शुक्रबार देखि गोरखाबाट पुनः सुचारु गरेका छन ।
पोस्ट-प्रोडक्सनमा पुगेका फिल्महरू
केही फिल्महरू सुटिङको दौड सकाएर पोस्ट-प्रोडक्सनमा प्रवेश गरिसकेका छन्। ‘बलिदान’ ले चार महिना लामो सुटिङ पूरा गरेर सम्पादन चरणमा प्रवेश गरेको छ। उता, चर्चित गायक प्रकाश सपुत अभिनीत ‘सोल्टिनी’ अभिनेता र विपिन कार्की मुख्य भूमिकामा रहेको ‘कर्मा’ पोस्ट-प्रोडक्सनमा पुगेको अर्को अर्को ठूला प्रोजेक्ट हुन ।

फिल्ममा निर्माणको यो चहलपहलले नेपाली फिल्म क्षेत्रलाई पुनः गति दिएको देखिन्छ। कुनै बेला कोभिडको महामारीका कारण थलिएको उद्योग अहिले तिब्र गतिमा अघि बढिरहेको छ। प्रत्येक साताको कुनै न कुनै फिल्म फ्लोरमा जान थालेको छ भने, केही फिल्महरू गुपचुप छायांकन भइरहेका छन्। आगामी महिना र वर्ष नेपाली दर्शकका लागि रोमाञ्चक हुने देखिन्छ, किनभने विभिन्न विधाका करिब २ सयको संख्यामा नयाँ फिल्महरू छायाँकनमा जाने तयारीमा छन ।
News Filmy Newsportal / Nepal