तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु

काठमाडौं । निर्देशक तुलसी घिमिरे स्वस्थ भएपछि ‘पहाड’ को सुटिङ पुनः सुरु भएको छ ।  

गत माघ २२ गते  शुभ मुहूर्तकै दिन केही दृश्य खिचेपछि अचानक बिरामी परेका घिमिरे करिब दुई साताको बेड रेष्ट पश्चात एक्सन-कट मा फर्किएका हुन्।

सुटिङको चापसँगै चिसो मौसमका कारण घिमिरेलाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ततपश्चात पूरा यूनिट सुटिङ स्थल गोरखाबाट  काठमाण्डौँ फर्किन बाध्य भएको थियो ।  १७ दिनको विश्रामपछि  फिल्मको सुटिङ हिजोबाट सुचारु भएको हो। पहिलो दिनका दृश्यहरूमा विपिन कार्की, रविन्द्र सिंह बानिया र अरुण क्षेत्री सहभागी थिए। 

आफ्नी कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीका रुपमा डेब्यू गराउँने सपना सहित पहाड बनाउँन होमिएका तुलसीले यो फिल्म खिच्न कालेङपोङका हितैषी सिनेमाटोग्राफर प्रमोद प्रधान झिकाएका छन जसले तुलसीका चार वटा फिल्म अन्याय, कोसेली , चिनो र दक्षिणा खिचेका थिए ।

पहाडमा मदन कृष्ण श्रेष्ठ सहित सुनील थापा, अरुण रेग्मी, अंकित खड्का, आशा पौडेल, रेनु नाथ योगी, सलोना बज्राचार्य, रेहाना केसी, सार्थक लकान्द्री, गोविन्द सुनार, नीवन राई र स्थानीय कलाकार नेहा श्रेष्ठको समेतले अभिनय गर्दैछन ।

तुलसीकी छोरी पञ्चमीको जोडीका रूपमा अरुण क्षेत्री देखिनेछन् भने विपिनको जोडीका रूपमा रेणु नाथ योगी रहनेछिन्। यो फिल्म निर्माणमा तुलसीकी श्रीमती भारती घिमिरेले क्रिएटिभ डाइरेक्टरका रूपमा रहेर श्रीमानलाई सघाईरहेकी छिन भने जेठी छोरी भावनाले प्रोडक्सन डिजाइनरको जिम्मेवारी बहन गरेकी छिन ।