काठमाण्डौँ । नेपाली फिल्मको ईतिहासमा सर्वाधिक व्यापार गर्न सफल फिल्म पूर्णबहादुरको सारंगीका निर्माताले रिलिजको ८८औँ दिनमा सफलताको पार्टी आयोजना गर्दै दुई नयाँ फिल्म पूर्णबहादुरको सारंगी -२ र रोल नम्बर वान निर्माणको घोषणा गरेका छन ।
हाल सम्म पनि प्रर्दशनरत फिल्मले आगामी १२ औँ दिनमा सय दिनको रिलिज रेकर्ड राख्दैछ । सक्सेस पार्टी मनाएको साँझ फिल्म रिलिज भएको ८८औँ दिन हो । हिजो सम्म ५ वटा हलमा लागिरहेको यो फिल्म काठमाण्डौका ३ वटा हलमा अझै प्रर्दशनरत छ । ओपनिङ विजेशन १७ लाखबाट सुरु गरेको फिल्मले रिलिजको ८४ औँ दिन सम्म घरेलु बक्स अफिसमा ४८ करोड ७ लाख ग्रस कलेक्सन गरेको बताईयो । यस्तै डायस्पोरा तर्फ करिब २५ करोडको ग्रस व्यापार गर्दै वर्ल्डवाइड ७५ करोडको व्यापार गरेको दावी गरिएको छ । हाल सम्मकै सवै भन्दा धेरै सो पाउने नेपाली फिल्मको लिष्टको अग्रपंङिक्तमा रहन सफल यो फिल्मले ३८ वटा हलमा एकै साथ ५१ औं दिन समेत मनाएर अर्को रेकर्ड कायम गर्यो ।

कार्यक्रममा फिल्मका मुख्य कलाकार विजय बराल र अभिनेत्री अञ्जना बराइली सहित अन्य कलाकार तथा प्राविधिकहरुलाई बोनस स्वरुप केही रकम समेत वितरण गरिएको थियो तर मुख्य अभिनेता विजय बरालले शेयरवापत प्राप्त गर्ने ५ प्रतिशत नाफाको हिस्सा भने सो समारोहमा वितरण गरिएन । उनको भागमा सम्वत १ करोड २५ लाख पर्ने आँकलन गरिएको छ ।
यसैगरी फिल्मका अर्का विशेष कलाकार गायक प्रकाश सपुत पनि कार्यक्रममा देखिएनन । रिलिजको क्रममा निर्माता संग भएको असमझदारीले गर्दा होला उनी कार्यक्रममा नदेखिएको अनुमान गरिएको छ । (कार्यक्रमको भिडियो रिपोर्ट)

यसैगरी निर्माता विनोद पौडेलसँगको मनमुटावका कारण यो फिल्मका अन्य दुई निर्माता प्याट्रिक सुवेदी र रमेश ढकाल पनि समारोहमा देखिएनन । फिल्मका मुख्य निर्माता विनोद पौडेलसँग रमेश र प्याट्रिकको ठूलो मनमुटाव भएपछि यो परिस्थिती पैदा भएको हो । मनमुटाव भएसँगै पूर्णबहादुरको हिस्सा लिएर प्याट्रिक र रमेश अलग मात्र भएनन आगामी दिनमा पूर्णबहादुरको सारंगीको हकमा उनीहरुको कुनै पनि अधिकार नहुने गरी सम्झौता गरेर छुट्टिएको बताईन्छ ।

राम लक्ष्मण र भरत जस्ता दाजु भएर नेपाली फिल्मलाई अर्को उचाईमा पुर्याउन सफल भएका यि तीन साथी छुटिएपछि पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीको सम्पूर्ण खर्च विनोद पौडेलले एकल गरेका हुन । तर ऐतिहासिक रेकर्ड कायम गरेको यो फिल्ममको सफलता सम्म निर्माताद्धय प्याट्रिक र रमेशले साथ नदिदा ऐतिहासिक भूल गरेको समीक्षा भएको छ । तर यदि उक्त सक्सेस पार्टीको खर्च र बोनसको हिस्सा व्यहोर्ने निर्णय सहितको सहमति भएको भए ठिकै छ तर कार्यक्रममा सहभागिता भने हुन आवश्यक थियो प्याट्रिक र रमेशको ।
नाफाको हिस्सा लगेपछि सफलताको पार्टी सम्म खर्च व्यहोरेर भएपनि उनीहरु ऐतिहासिक क्षणको साक्षी चाँहि बन्नु पथ्र्यो । केही हद सम्म फिल्म नगरी प्रति उत्तरदायित्व निर्वाह गर्नु पर्थियो चाहे जति सुकै मनमुटाव किन नहोस सुरुवाती दिनका पार्टनर भएका कारण उनीहरुले फिल्ममा आवद्ध काष्ट एण्ड क्रु ले मनाएको सफलतामा साथ दिन पर्थियो ।

यसैगरी कार्यक्रममा पूर्णबहादुरको टिमसँग बाँसुरी फिल्मको व्यानर समेत साँझेदारी गरेका निर्देशक रामबाबु गुरुङ र राजधानीको वितरण जिम्मेवारी हेरेका फिल्म वितरक प्रचण्डमान श्रेष्ठ काठमाण्डौँ बाहिर भएका कारण कार्यक्रममा देखिएनन तर काठमाण्डौ बाहिरको वितरण हेरेका वितरक मनोज राठी, उज्जवल पौडेल र रिलिजमा सघाएका अर्का वितरक करण श्रेष्ठ लगायत अन्य सिनेमा हलका प्रतिनिधि र कलाकारहरुको उपस्थिती भने बाक्लो थियो ।
भब्य तरिकाले मनाएको पार्टीमा प्राय सवै कुरा चुस्त देखिएको थियो तर अन्तिममा मिडिया र फिल्मसँग सम्बन्धीत सहयोगकर्ताहरुलाई बाढिएको कदर पत्र वितरण कार्यक्रममा भने केही लय विग्रियो । अत्याधिक मात्रामा बाढिएको मायाको चिनो वितरण गन्जागोल हुँदा कतिले त आफैले लिने प्रमाणपत्र आफैले खोजेर, बोकेर स्टेज उक्लिएर फोटो खिचाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बनेका चलचित्र बिकास बोर्डका अध्यक्षबाट सेभेन सिज सिनेमाले बनाउँने आगामी दुई फिल्म रोल नम्बर वान र पूर्णबहादुरको सारंगी -२ को निर्माण घोषणा गरियो । रोल नम्बर वानलाई जोन योञ्जनले निर्देशन गर्दैछन भने पूर्णबहादुरको सारंगी -२ का निर्देशकका रुपमा सरोज पौडेल दोहोरिनेछ वा अरु कोही हुनेछन त्यस बिषयमा पनि टिमले केही खोल्न चाहेन ।
सार्वजनिक गरिएको दुई नयाँ फिल्मको टेक्सट अनावरणमा रोल नम्बर वानमा निर्देशकको नाम लेखिएको छ तर पूर्णबहादुरको सारंगी -२ मा भने निर्माता विनोद पौडेलको मात्र नाम छ ।
त्यसैगरी पूर्णबहादुरको सारंगी प्रर्दशनका क्रममा यो टिमले सुरेन्द्र पौडेललाई लिएर बरिष्ठ बलराम बनाउँने भनेर समाचारहरु पनि सार्वजनिक भएका थिए तर कार्यक्रममा सुरेन्द्रको निर्देशनमा बन्ने उक्त फिल्मको घोषणा पनि भएन । सुरेन्द्र पौडेल पूर्णबहादुरको सारंगीका सम्पादक हुन । तस्बिर : सुरेन्द्र थापा
News Filmy Newsportal / Nepal




