काठमाडौँ – एम.टीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पालाई माइतीघरबाट डेब्यू गराउने ठूलो तयारीमा रहेका फिल्म निर्माता रोहित अधिकारीले दिकिला सँग भएको सम्पूर्ण सहमति भंग गरेका छन ।
निर्माता र दिकिला वीच माइतीघरमा खेल्ने बिषयमा मौखिक सहमति भएर समाचारहरु पनि निकालिएका थिए तर जुन फिल्मबाट डेब्यू हुने सल्लाह थियो सोही फिल्मको टिमलाई जानकारी नदिई दिकिलाले बुद्धी तामाङले निर्माण गर्न लागेको फिल्म कुस्ती साइन गरेपछि यो परिस्थीति सृजना भएको बताईन्छ । बुद्धीको कुस्ती अनिल योञ्जनको निर्देशनमा बन्दैछ जहाँ धिरज मगर र मिरुना मगरको साथमा अब दिकिला देखिनेछिन ।
यता आफ्नो टिमको योजना र सहमति विपरित अर्को प्रोजेक्ट जोइन गरेपछि आगो भएका निर्माता रोहित अधिकारीले दिकिलाले गर्ने भनिएको रोलमा शेर्पा समुदायकी अर्की सिक्किमेली अभिनेत्री श्यामश्री शेर्पालाई भित्राउने निर्णय गरेका छन ।
श्यामश्री सिक्किम सिङतामकी लोकप्रिय मोडल तथा अभिनेत्री हुन । उनले मुख्य भूमिकामा अभिनय गरेको सामतेन भुटियाको निर्देशनमा बनेको फिचर फिल्म ”तारा- द लोस्ट स्टार” क्यान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, फ्रान्समा प्रतिनिधित्व गरेको थियो जहाँ स्वयम श्यामाले पनि सहभागीता जनाउँने अवसर पाएकी थिईन ।
हाल एक फिल्मको छायाँनमा व्यस्त रहेकी श्यामश्री मुम्बईको प्रतिष्ठित किशोर नमित कपूर एक्टिङ इन्स्टिच्युटकी प्रशिक्षित कलाकार हुन्, जहाँ विक्की कौशल, रणवीर सिंह, करिना कपुर सहित नेपाली अभिनेता समीर भट्टले समेत प्रशिक्षण लिएका थिए। मास कम्युनिकेसन र पत्रकारितामा स्नातक गरेकी उनी शास्त्रीय नृत्यमा पनि पोख्त छिन ।
आगामी बैशाख देखि फ्लोरमा जान लागेको माइतीघरमा प्रकाश सपुत, धीरज मगर, उपसना सिहं ठकुरी, केदार घिमिरे माग्ने बुढाका साथमा अब श्यामाश्रीलाई देख्न पाईने छ । २०८२ सालको दसैँको फुलपातिको दिन देखि रिलिज गर्ने लक्ष्य राखिएको फिल्मलाई मिलन तामाङले निर्देशन गर्दैछन ।
News Filmy Newsportal / Nepal



