काठमाण्डौँ । पर्यटकीय राजधानी पोखरालाई प्राकृतिक स्टुडियो को रूपमा स्थापित गर्ने लक्ष्यका साथ चलचित्र पर्यटन महोत्सव हुने भएको छ । ।
यसै सन्दर्भमा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले औपचारिक सम्झौता गरेका छन्।
आगामी फागुन १७ देखि १९ गतेसम्म हुने यो महोत्सवले पोखरालाई चलचित्र निर्माण र पर्यटनका लागि थप आकर्षक गन्तव्यको रूपमा चिनाउने विश्वास गरिएको छ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमा सम्झौतासँग सम्बन्धित तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “हामी सम्पूर्ण कलाकार तथा स्रष्टाहरूलाई पोखरामा हार्दिक स्वागत गर्दछौं र यस महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं।”
यस महोत्सवमा चलचित्र विकास बोर्डको नेतृत्वमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, र नेपाल टेलिकमले प्रवद्र्धकको भूमिका खेल्नेछन् भने स्थानीय संघसंस्थाहरू, जस्तै चलचित्र पत्रकार संघ र पोखरा पर्यटन परिषद्, सह-आयोजकका रूपमा सहभागी हुनेछन्।
यो महोत्सवले पोखराको प्राकृतिक सौन्दर्यलाई चलचित्र र पर्यटन उद्योगमा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।