काममा फर्किए विपिन कार्की : तेल भिसाको डविङ सुरु

काठमाण्डौ । आमाको निधन पछि शोकमा रहेका अभिनेता विपिन कार्की काममा फर्किएका छन ।

शोक भुलेर काममा फर्किए सँगै विपिनले आफ्नो नयाँ फिल्म तेल भिसाको डविङ सुरु गरेका हुन । मंसिर ७ गते देखि रिलिज हुने तेल भिसाको डविङ काठमाण्डौँको अनामनगर स्थित सम्राट फिल्मसको स्टूडियोमा चल्दैछ ।

निर्देशक शंकर घिमिरेका अनुसार विपिनसँगै अर्की अभिनेत्री पूजा चन्दको पनि डविङ चल्ने छ । फिल्मकी अर्की अभिनेत्री ऋचा घिमिरेको डविङ भने महिना दिन अघिनै सकिएको थियो । हाल अमेरिकामा रहेकी यस फिल्मकी अर्की मुख्य अभिनेत्री बर्षा राउतको डविङ चाँहि उतै अमेरिकाको एक स्टूडियोमा हुनेछ ।

गत भदौ ६ गते आमा गुमाएका कारण शोकमा रहेका विपिनले तेल भिसाको डविङ सकिए लगत्तै छायाँकन रोकिएको फिल्म ऊनको स्वीटरको बाँकी रहको सुटिङ पूरा गर्दैछन ।

विपिनले तेल भिसामा पिता र पुत्रको दुई भूमिका निर्वाह गरेका छन । डविङको क्रममा मिडिया सम्बोधन गर्दै विपिनले भनेका छन ‘बुवा र छोराको दुई वटा क्यारेक्टरलाई न्याय दिने गरी डविङमा दिमाग लगाएर मिहिनेत गर्नु पर्ने छ ।’