काठमाडौं । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार गीत सार्वजनिक गर्दै फिल्मको प्रचारलाई अघि बढाएको हो।
सार्वजनिक गीतमा दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको छमछमी नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतमा तीनै कलाकारको नाच आकर्षक देखिएको छ।
गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको छ। शब्द तथा संगीत पनि मल्लकै हो भने एरेन्ज श्याम श्वेत रसाइलीले गरेका छन्। गीतको कोरियोग्राफी मिङ्मा डि लेप्चाको रहेको छ, जसलाई दर्शकले मन पराएको देखिन्छ।
निर्माता जनक घर्ती मगरले फिल्मको कथाअनुसार नै गीत समावेश गरिएको बताएका छन्। उनले दर्शक–स्रोताबाट राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरेका छन्।
ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिमा आधारित सामाजिक कथामा बनेको फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगरसहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत कलाकारको अभिनय रहेको छ। तेरिया मगरको यो डेब्यु फिल्म हो।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका छन्। मुख्य सहायक निर्देशक फिरोज खड्का हुन्।
फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।
News Filmy Newsportal / Nepal