लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौं — फागुन २९ गते प्रदर्शन मिति तय गरिएको नेपाली फिल्म ‘लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मकी शीर्ष नायिका रोशनी कार्की लाई एकल फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको हो।

पहिलो फस्ट–लुक पोस्टरले दर्शकमाझ कौतुहलता बढाएकाले दोस्रो पोस्टर ल्याइएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराज ले बताएका छन्।

दोस्रो पोस्टरमा समस्यामा जेलिएकी रोशनीलाई आत्मविश्वासी, सहनशील र शान्त भावमा प्रस्तुत गरिएको छ। माथिल्लो शरीरमा कपडा नलगाएकी उनी झ्यालबाट कोठाभित्र छिरेको प्रकाशमा देखिन्छिन्। पीडापछि आएको शान्त मुद्राले उनको चरित्रको गहिराइ संकेत गर्छ। पोस्टरले उनी यौनकर्मीको भूमिकामा रहेको संकेत पनि दिन्छ।

पोस्टरबारे निर्देशक मिराज भन्छन्, “पहिलो पोस्टर असहायता र रहस्य केन्द्रित थियो। नयाँ पोस्टरले शक्ति, आत्मविश्वास, सहनशीलता र परिवर्तनको संकेत दिन्छ। शीर्षकमा रातो रङ प्रयोग गरिएको छ, नाटकीय सिनेम्याटिक प्रकाशले यो केवल डरको कथा मात्र होइन—जागरण र आत्मबलको कथा पनि हो भन्ने सन्देश दिन्छ।”

फिल्मका नायक जीवन भट्टराई हुन्। साथै उषा रजक, सुष्मा निरौला, घनश्याम जोशी, सबिन कट्टेलशिशिर वाङ्देल मुख्य भूमिकामा छन्।

निर्माण पक्षका अनुसार फिल्म करिब तीन हजार यौनकर्मीका अनुभव, संघर्ष र भोगाइमा आधारित छ। फेथ आस्था को प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।

Leave a Reply