काठमाडौं। यो वर्षकै उत्कृष्ट फिल्मको रूपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्ट ले फिल्मलाई आगामी मार्चको दोस्रो सातादेखि भारतका हलमा प्रदर्शन गर्ने जिम्मेवारी लिएको छ।
कम्पनीले आफूहरू भारतको रिलिजका लागि निर्माताका रूपमा जोडिएको जानकारी दिँदै ‘रमिताको पिरती’को कथा र प्रस्तुति भारतीय युवा दर्शकले पनि रुचाउने विश्वास व्यक्त गरेको छ। निर्माता सागर लम्साल र इन्फिनिटीबीच हालै फिल्म भारतमा रिलिज गर्ने सम्झौता सम्पन्न भएको हो।
‘रमिताको पिरती’ले अहिलेका युवा–युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ। नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले यथार्थपरक कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देशका कारण युवा दर्शकबाट प्रेरक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
इन्फिनिटीले फिल्मले भारतीय युवा दर्शकको मनोविज्ञानलाई पनि समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ। दक्षिण एसियाली कथालाई विश्वभर पुर्याउने लक्ष्यसहित स्थापना भएको कम्पनीले संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने उद्देश्यका साथ ‘रमिताको पिरती’को वितरणमा जोडिएको जनाएको छ। यसले नेपाली फिल्मलाई सीमाभित्र मात्र नभई सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।
सहकार्यबारे इन्फिनिटीका प्रतिनिधिले भने, “रमिताको पिरतीले आजको युवाको प्रेम जीवनलाई दुरुस्त देखाएको छ, जुन भारतका दर्शकले पनि रिलेट गर्न सक्छन्। राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न जरुरी छ। हामी यो फिल्मलाई धेरै दर्शकसम्म पुर्याउँछौँ।”
अहिले भारतका हलसँग रिलिजका लागि कुराकानी भइरहेको र चाँडै भारतका कुन–कुन स्थानमा कहिलेदेखि प्रदर्शन हुने भन्ने जानकारी सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
सुदिप्ताको निर्देशनमा बनेको ‘रमिताको पिरती’मा आना शर्माको मुख्य भूमिका रहेको छ। फिल्ममा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी लगायत कलाकारको अभिनय रहेको छ।
News Filmy Newsportal / Nepal