काठमाडौं । फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘शिवांश’ मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर समावेश हुने भएको छ। निर्माणपक्षका अनुसार खेरको स्वरमा रहेको ‘शिव ताण्डव स्तोत्रम्’ गीत फिल्ममा राखिएको छ।
नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले कैलाश खेरको गीत फिल्ममा रहेको जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य पात्रहरू देखिएका छन्। प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रूपमा देखिन्छन् भने तेज गिरी रिसाहा मुद्रामा छन्। रुसा न्यौपाने र विमला लिम्बू फरक–फरक भावमा प्रस्तुत छन्। विकास जोशी हातमा डमरु बोकेर चिच्याइरहेको अवस्थामा देखिन्छन्।
श्याम–श्वेत पोस्टरमा चक्र र आगोको प्रयोग गरिएको छ। पोस्टरले फिल्मका पात्रहरू मानसिक तनावमा रहेको संकेत गर्छ भने कलर टोनले निराशा र तनावपूर्ण जीवनशैली झल्काएको छ।
महाशिवरात्रिको अवसर पारेर फागुन १ गते रिलिज हुने फिल्म ‘शिवांश’ को सन्दर्भमा गायक कैलाश खेरले नेपाल र नेपाली दर्शकका लागि विशेष भिडियो सन्देश पनि जारी गरेका छन्। उनले आफ्नो नयाँ सांगीतिक परियोजना र भारत–नेपालबीचको मैत्री सम्बन्धबारे चर्चा गरेका छन्।
आफ्नो ओजपूर्ण आवाजका लागि विश्वभर चर्चित खेरले नेपाली दर्शकले आफ्ना गीतहरूलाई दिएको माया र साथप्रति आभार व्यक्त गर्दै भनेका छन्,“नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रकारको प्रेम दिनुहुन्छ, त्यसका लागि मसँग शब्द छैन।”
कैलाश खेरले ‘शिवांश’ लाई भारत–नेपाल मैत्री सम्बन्धको प्रतीकका रूपमा चित्रण गर्दै ‘शिव ताण्डव स्तोत्रम्’ आफूले गाउन पाएकोमा गर्व महसुस गरेको बताएका छन्। साथै, उनले फिल्मका लागि नेपाली दर्शकको माया र आशीर्वादको अपेक्षा पनि गरेका छन्।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक सन्तोष कुमार आत्रेय हुन्। यो उनको डेब्यु निर्देशन हो। फिल्मका निर्माता अञ्जान केसी हुन्।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुसा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहनेछ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् भने सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूको रहेको छ।
फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको छ। गायनमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी छन्।
द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहानले गरेका छन्। डीओपी सरद महतो, कार्यकारी निर्माता सम्भू थापा रहेका छन्। पोस्ट–प्रोडक्सन चलचित्र चौतारीले गरेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन) ले गर्नेछ।
News Filmy Newsportal / Nepal