काठमाडौं । फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको कथा प्रस्तुत गरिएको छ । बुवा र छोरीबीचको इमोस्नल कथालाई ट्रेलरले समेटेको छ । श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान् कति रित्तो हुन्छ भन्ने भाव ट्रेलरमा देखाइएको छ ।
त्रिकोणात्मक प्रेम कथा रहेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा देख्न सकिन्छ । आमाले छोरीलाई छोडेर गएपछि छोरीले गरेको अभावको महसुस देखाउँदै ट्रेलरले छोराछोरीका लागि आमाको महत्व कति गहिरो हुन्छ भन्ने प्रष्ट पारेको छ।
ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, शाइसा गौचनलगायत कलाकार देखिएका छन् । दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ । आमाको अभाव महसुस गरिरहेकी छोरीलाई कसरी मातृत्व प्रदान गर्ने भन्ने दयाहाङको प्रयासले दर्शकलाई भावुक बनाउने संकेत ट्रेलरले गरेको छ ।
एकले अर्कोलाई पाउने चाहना कसरी विस्तारै उजागर हुँदै जान्छ, त्यो कसरी अभिव्यक्त हुन्छ, नुमा आफ्नी आमा होइन भन्ने थाहा पाएपछि निमाको प्रतिक्रिया तथा आमाको वास्तविकता थाहा पाउन गरिएको संघर्ष टिजरमा देखाइएको छ ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन् । फिल्मका कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
News Filmy Newsportal / Nepal