दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को छायाङ्कन सम्पन्न

काठमाडौं । निर्देशक दिनेश राउत को निर्देशनमा बनिरहेको प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो ।

फिल्मको रिलिज मिति भने पोस्ट–प्रोडक्सनको प्रगति मूल्याङ्कन गरेर केही दिनमै घोषणा गरिने निर्देशक राउतले जानकारी दिएका छन् । निर्माण टिमका अनुसार ‘कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ ।

छायाङ्कनको बीचमै नै चलचित्र ‘कुमारी’ घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो । हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंह लिम्बु र उनको ब्यान्डको लाइभ भर्सन टिकटक र युट्युबमा अत्यधिक लोकप्रिय छ । गीतको स्टुडियो भर्सन फिल्म रिलिजसँगै मात्रै सार्वजनिक गरिनेछ ।

यस फिल्मबाट अबिषेक खड्का र आकृति राजभन्डारी ले प्रमुख भूमिकामा डेब्यु गरेका छन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतका कलाकार चलचित्रमा देखिनेछन् ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा निर्माण गरेको यो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । फिल्मको स्क्रिप्ट विकास सुवेदी ले लेखेका हुन् भने छायाङ्कन निर्देशन सुसन प्रजापति ले गरेका छन् ।

फिल्ममा चार गीत रहेका छन्, जसमा गायक लिम्बुले नै स्वर दिएका छन् । सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान रहेको छ ।

Leave a Reply