अन्तरजातीय प्रेम कथामा आधारित फिल्म ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक

काठमाडौं। आगामी कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुन लागेको नेपाली फिल्म ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित उक्त कार्यक्रममा फिल्म युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो ।

ट्रेलरमा एक ‘अर्ग्यानिक’ नेपाली प्रेमकथा प्रस्तुत गरिएको छ, जसमा सामाजिक र पारिवारिक अप्ठ्याराका बीच अंकुरिएको प्रेमको संवेदनशील चित्रण छ । ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबीचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई उजागर गरेको छ ।

फिल्मको कथा मुख्यतया अभिनेत्री परीक्षा लिम्बुको वरिपरि केन्द्रित छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबीचको प्रेमकथा मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, कलाकारहरू विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा र अभिनेत्री सबु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । लेखनमा अर्जुन सुवेदी र कुमार भट्टराई रहेका छन् । प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।

निर्देशक सुवेदीका अनुसार ‘सोल्टिनी’ले समाजमा विद्यमान जातीय विभेद, अमानवीयता र प्रेममा आउने सामाजिक अड्चनविरुद्धको सशक्त आवाज उठाउने उद्देश्य लिएको छ ।

Leave a Reply