काठमाडौं। भाइटिकाको अवसर पारेर कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सोल्टिनी’ को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन अनलाइनमार्फत सार्वजनिक गरिएको गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्।
गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ भने कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। गीतमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय देख्न सकिन्छ।
यसअघि सार्वजनिक टिजर र पोस्टरमार्फत फिल्मले ग्रामीण जीवनशैली, प्रेमकथा र सामाजिक सङ्घर्षलाई उजागर गर्ने संकेत दिएको थियो। फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् भने प्रकाश, परीक्षा, सुन्दर, सब्बु र सुजनसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्।
इलाम, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको फिल्मले जातीय भेदभाव र अमानवीयताविरुद्ध सन्देश दिने बताइएको छ। फिल्मको वितरण टि फल्क्स फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
शीर्षक गीत सार्वजनिकसँगै फिल्मको प्रचार–प्रसारलाई अझ तीव्र पारिने निर्माण पक्षले जनाएको छ।
News Filmy Newsportal / Nepal