काठमाडौं। नेपाली फिल्म उद्योगमा प्रतिक्षित फिल्म ‘बलिदान’ का निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मप्रतिको आफ्नो अटुट भरोसा व्यक्त गरेका छन्। उनले यसलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोधको अभिव्यक्ति भएको बताएका छन्।
“हामीले उठाएको विषयवस्तु पर्दामा उतार्न निकै कठिन थियो। लामो समयको धैर्य र परिश्रमपछि आज फिल्म प्रदर्शनको तयारीमा पुगेको छ। यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आमाप्रतिको माया हो,” सेनले भने, “फिल्मलाई सफल बनाउन कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ। कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन्।”
उनका अनुसार, फिल्मले राजनीतिक कुटिलताले कसरी जनतालाई बहकाउँछ भन्ने सन्देश पनि दिनेछ। “हामी आमाको कोखबाट जन्मिन्छौं, मातृभूमिको काखमा हुर्कन्छौं। यी दुवै हाम्रो जीवनका आधार हुन्, यही भाव फिल्ममा समेटिएको छ,” उनले थपे, “फिल्म हेर्दा दर्शकले मनोरञ्जनसँगै जोस र ऊर्जा पाउनेछन्।”
गत शुक्रबार सार्वजनिक गरिएको ‘बलिदान’ को ट्रेलरले नेपाली फिल्म क्षेत्रमा उत्साह थपेको छ। यसअघि पोस्टर, प्रि–टिजर, टिजर र गीतमार्फत चर्चा कमाइसकेको फिल्मले ट्रेलरमार्फत अझै ठुलो अपेक्षा सिर्जना गरेको छ। ट्रेलरमा आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य, समीर भट्टको दमदार प्रवेश, सौगात मल्ल र अर्पण थापा फरक अवतारमा प्रस्तुत भएको देखिन्छ। तीव्र एक्सन, दर्जनौँ खलनायकहरूसँगको भिडन्त र सशक्त संवादले ट्रेलरलाई उच्च स्तरमा पुर्याएको छ।
यसअघि सार्वजनिक शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा निकै लोकप्रिय बनेको छ। सुजन चापागाईँको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार गीतले देशभक्तिको भावनालाई झन् प्रज्वलित बनाएको छ।
*आशुसेन फिल्म्स प्रा.लि.*को ब्यानरमा बनेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका फिल्म ‘बलिदान’ असोज १३ गते (फूलपातीको दिन) प्रदर्शनमा आउँदैछ।
निर्देशक सेनले यसलाई केवल फिल्म नभई “हरेक नेपालीको मनको विद्रोहको प्रतीक”का रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।