‘पेन्सनपट्टा’बाट विश्वास र मायाको नेपाली फिल्ममा डेब्यु

काठमाडौं। कलाकार माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्।

गुरुङ फिल्मका अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’मा अभिनय गरेका छन्। अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन्। यी दुवै कलाकार गुरुङ फिल्ममार्फत पहिलोपटक नेपाली रजतपटमा डेब्यु गर्दै छन्।

गुरुङ फिल्मका ‘गडफादर’का रूपमा परिचित माओत्से गुरुङकै निर्देशनमा बन्ने ‘पेन्सनपट्टा’बाट मेनस्ट्रीम फिल्ममा डेब्यु गर्न पाउँदा आफूहरू उत्साहित भएको उनीहरूले बताए।

कार्तिकबाट फ्लोरमा निस्कने यो फिल्मको शीर्षक सुन्दा भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि, यसले लोभी युवक कसरी दानी बन्छ भन्ने कथा प्रस्तुत गर्ने निर्देशक तथा निर्माता गुरुङले जानकारी दिए।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने यस फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। अन्य कलाकारबारे चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए। सम्पूर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा हुने निर्माण टिमले जनाएको छ। सुशन प्रजापति छायाकार र सुरज तमु कास्टिङ निर्देशक रहेका छन्।

निर्देशक गुरुङले निर्देशन गरेको पहिलो फिल्म बक्सअफिसमा सफल भएको थियो। चरित्र अभिनेताका रूपमा परिचित उनी पछिल्लो समय लेखन र निर्देशनमा समेत सक्रिय छन्। यसअघि गुरुङ भाषाका फिल्म निर्देशन गर्दै आएका उनी कलाकार र निर्देशकसँगै निर्माता पनि हुन्।

Leave a Reply