काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’को रिलिज मिति फेरिएको छ। असोज १३ गते दशैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै एकै दिन चार नेपाली फिल्म रिलिज हुने भएकाले शो संख्या कम हुने सम्भावना देखिएपछि प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाएको छ। असोज २४ मा फिल्मलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने स्पष्ट पारिएको छ।
विज्ञप्तिमा भनिएको छ, “जेंजी आन्दोलनका कारण भदौ २७ गतेको रिलिज स्थगित गर्नुपरेको थियो। असोज १३ मा धेरै फिल्म एकसाथ आउने भएकाले पर्याप्त शो पाउन कठिन हुने भएकाले अन्तिम मिति असोज २४ तोकिएको हो।”
यस पटक फिल्मले सोलो रिलिजको अवसर पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। सुशान्त गौतम निर्देशित फिल्ममा क्रिएटिभ निर्देशक मदन थापा, लेखक मुकेश खनाल र डीओपी शरद महतो रहेका छन्।