‘वरिष्ठ बलराम’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

काठमाडौं। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको नयाँ फिल्म ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ। निर्माणपक्षले एकैपटक दुई पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो।

पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराललाई केन्द्रमा देखाइएको छ। एउटा पोस्टरमा दयाहाङ रातो सुटमा मोबाइल हातमा लिएर क्रुद्ध मुद्रामा देखिएका छन् भने विजय निराश मुद्रामा छन्। अर्को पोस्टरमा उनीहरू दुवै सोचमग्न देखिन्छन्, जहाँ समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप चौधरी पनि फिचर्ड छन्।

सार्वजनिक गरिएको टिजरमा दयाहाङ र विजयबीचको नोकझोकलाई देखाइएको छ, जसले फिल्मप्रति थप उत्सुकता बढाएको छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ आउँदो कात्तिक ६ गते भाइटीकामा प्रदर्शनमा आउने भएको छ।

यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका पौडेलको यो चौथो निर्देशन हो। फिल्ममा दयाहाङ, विजय, समृद्धि, माओत्से, पशुपति, प्रदीपलगायत कलाकारको अभिनय रहेको छ।

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्स सहकार्य रहेको फिल्ममा आशिष एच। तामाङ र श्रीराज कार्की निर्माता छन्। छायांकन मानकृष्ण महर्जनले गरेका हुन् भने संगीत प्रशान्त शिवाकोटी र विशेष पाण्डेयले दिएका छन्। फिल्मलाई काठमाडौंमा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।

Leave a Reply