टीकाराम यात्रीको सञ्चालनमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’

काठमाडौं।  गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित टीकाराम यात्रीको नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रसारण हुने भएको छ। मूनलाइट मोसन पिक्चर्सको प्रस्तुतिमा तयार भएको उक्त कार्यक्रम तिहार लगत्तै एपि वन टेलिभिजनमार्फत प्रसारण गरिनेछ।

कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग समावेश हुने छन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले राजनीतिक, सामाजिक तथा कला क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वलाई प्रस्तुत गर्नेछ। पाहुनाका जीवन, विचार, योगदानसँगै उनीहरूको सार्वजनिक जीवनमा जोडिएका विवाद र आलोचनासमेत खुला रुपमा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

 समसामयिक राजनीतिक तथा सामाजिक विषयमा धारिलो विचार प्रस्तुत गर्ने टीकाराम यात्रीको  विभिन्न लोकप्रिय टक शो सञ्चालन भईरहेका छन् । विश्लेषणात्मक प्रस्तुति र दृढ अभिव्यक्तिका कारण उनी नेपाली पत्रकारितामा एक बौद्धिक अनुहारका रूपमा स्थापित छन्।

कार्यक्रमको निर्देशन भने अमन प्रताप अधिकारीले गर्नेछन्। ‘हिमालय रोडिज’, ‘को बन्छ करोडपति’, ‘ऐना’, ‘कृपा अनप्लग्ड’ लगायतका चर्चित कार्यक्रम निर्देशन गरेर ख्याति कमाएका अधिकारी पछिल्लो समय कविता रियालिटी शो ‘पोएट आइडल’ का निर्देशकका रूपमा सक्रिय छन्। स्कटल्यान्डको एडिनबर्ग कलेजबाट फिल्ममेकिङ र टेलिभिजन प्रोडक्सनमा डिप्लोमा गरेका अधिकारी पूर्व ए–डिभिजन फुटबल खेलाडी तथा कमेन्टेटरसमेत हुन्। उनी प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीका सुपुत्र हुन्।

कार्यक्रमका निर्माता सन्तोष भण्डारीले ‘कठघरा’लाई दर्शकमाझ सशक्त प्रस्तुतिका साथ ल्याइने विश्वास व्यक्त गरेका छन्। यस कार्यक्रमको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

Leave a Reply