काठमाण्डौँ । चैत्र २९ मा रिलिज हुने मल्टीस्टारर फिल्म पिताम्बरले टिजरबाट जुन किसिमको चर्चा पाएको थियो ट्रेलर सार्वजनिक पश्चात फिल्मले थप केही प्रसंशाहरु बटुल्ने सामाथ्र्य देखाएको छ ।
यत्तिको स्टारकाष्ट लिएर यो क्यानभासमा फिल्म बनाउँन बजेटका हिसावले ८ करोड न्यूनतम लाग्ने देखिन्छ तर यस फिल्मका निर्माता समेत रहेका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको स्ट्रोङ पि.आर.का कारण ५ करोडको लगानीमै बन्न सफल भएको फिल्म हो पिताम्बर । पुरुको पि.आर भन्दा पनि सि.आर (CR) अर्थात सेलिब्रेटी रिलिसेनले यो सवै संकल्प पूरा भएको हो । किन कि उनी फिल्म नगरीका त्यस्ता क्रिएटिभ, मिहिनेती र मिजाशिला छायाँकार हुन जो अहिलेका चल्तीका सवै स्टार र फिल्ममेकरका प्रिय व्यक्तित्वमा गनिन्छन र सुरुवाती करिअरका सारथीमा चिनिन्छन ।
यदि नेपाली सिनेमाको छायाँकनका बिषयमा कुनै पनि शोधकर्ताले अध्ययन गर्नु परेमा पुरुषोत्तम प्रधान अग्रपंक्तिमा पर्दछन । उनी ईतिहास मात्र हैन ईतिहास बनाउँने छायाँकार पनि हुन जसले दर्जनौं ब्लकबस्टर फिल्म खिचिसकेका छन्। लुट देखि छक्का पञ्जा सम्मका माइलस्टोन फिल्ममा उनको क्यामेरा चलाउने शैलीले जादू देखाएको छ। ३० वर्षे करिअरमा सयौं फिल्म खिचिसकेका उनलाई नेपाली सिनेमाका स्टारहरू र फिल्ममेकरहरूले उत्तिकै सम्मान गर्छन्।
तसर्थ निर्देशक कृषा चौलागाई र अर्का निर्माता विशाल चौलागाईसँगको पार्टनरसिपमा पुरुले बनाएको पिताम्बरलाई सफल बनाउँन दयाहाङ राई देखि लिएर सौगात मल्ल र प्रदीप खड्का जस्ता ठूला स्टारले विना हिचकिचाहट ठूलो पारिश्रमिक डिमान्ड नगरी फिल्म खेल्न राजी भएका हुन । पिताम्बरमाको निर्माणमा पुरुले देखेको सपनालाई पुरा गर्न प्राविधिक देखि पोष्टप्रोडक्सन हाउस सम्मले साथ दिएका थिए जसकारण ८ करोड लागत लाग्ने फिल्म ५ करोडमै बन्न सफल भएको हो ।
८५ दिन ३ वटा एरी क्यामेरा रोल हुँदा ५० दिन फाइट सिक्वेन्स मात्र खिचेका पुरुले आज सम्म खिचेको लामो सेड्यूलको फिल्म पनि यहि हो । उनले ५ बर्ष अघि निर्माण भएको अनमोल केसीको एक्सन श्रेणीको फिल्म कृ ५५ दिन सम्म खिचेका थिए । ततपश्चात पिताम्बर नै हो उनले खिचेको ठूलो क्यानभासको फिल्म ।
अर्को बर्ष प्रर्दशन हुने बलिदानलाई यहाँ मेन्सन नगर्ने हो भने यहि बर्ष सुटिङ भएर रिलिज भएका फिल्महरु मध्येको सवै भन्दा ठूलो लागतको फिल्म हो पिताम्बर । मेकिङका हिसावले सवै तिरबाट यो बर्ष रिलिज हुने फिल्मको माथिल्लो कोटीमा रहेर निर्माण भएको फिल्म पनि पिताम्बर हो भन्दा शायद फरक नपर्ला ।
नयाँ बर्षको छेकोमा प्रर्दशनमा आउँने पिताम्बरको ट्रेलर युट्युबमा रिलिज भएको २४ घण्टामा चार लाख भ्यूज नघाउँदै दर्शक प्रतिक्रिया बटुलिरहेको छ । एक्सनले भरिपूर्ण ईमोश्नल डाईलगबाट सुरु भएको पिताम्बरको ट्रेलर भाईलेन्ट छ । यस्तै भाईलेन्ट दृश्य यहि बर्ष प्रर्दशनमा आएको सुर्दशन थापाले बनाएको फिल्म रावायणमा पनि देखिएको थियो । उक्त फिल्मको मेकिङ पनि यस्तै प्रकृतिको उच्च थियो तर फरक यत्ति थियो कि यसमा मल्टीस्टारहरुको भिड छ । तसर्थ यो बर्ष एक्सन जनरामा बनिरहेका फिल्महरु मध्ये यो फिल्मको प्रोडक्सन भ्यालु सवै भन्दा उच्च देखिएको हो ।
पिताम्बरको समग्र कथा कस्तो छ । स्क्रिनप्लेले कतिको दर्शक होल्ड गर्ला त्यो पक्ष फिल्म रिलिज सँग थाँहा हुँदै जानेछ तर यति हो कि पिताम्बरको मेकिङलाई दुई हात जोडेर नमन गर्नै पर्ने हुन्छ । यद्यपि एक्सन फिल्ममा फिल्म मेकरहरुको अधिक ध्यान एक्शनमा क्रिएसनमा ज्यादा हुन्छ तसर्थ पिताम्बरको ट्रेलरमा खडिकएको एउटा पाटो चाँहि के हो भने कथा अझै भन्नू पर्थियो कि भन्ने हामीलाई लागेको छ , यस बिषयमा पुरुको टिमले कस्तो योजना बनाएको हो त्यो फिल्म रिलिजसँगै समीक्षा गरौला । तर राम्रो पक्ष चाँहि के छ भने संवादहरू सानो, प्रभावशाली र टेन्स छ । नायक र दुश्मन बीचको संवादले फिल्मको मनोविज्ञान र थ्रिललाई बढाई दिएको छ ।
कलाकारहरुको लुक्स फिल्मको जनरा अनुरुप एट्राक्टिभ छ । कम्प्रोमाईज कहि देखिएको छैन । विशेष गरी सौगात मल्ल र दयाहाङ राईको डाईलग झन बढी आकर्षक छ तसर्थ कथा र मेकिङ दुवै पक्षको तत्वको राम्रो समिश्रण भएर पिताम्बर बनेको छ भने यो फिल्म नेपाली फिल्म ईतिहासको एउटा विशेष मेकिङ सहितको एक्सनप्रधान फिल्मका रुपमा चिरकालपर्यन्त परिचित हुनेछ । एक पटक हेर्नुहोस पिताम्बरको ट्रेलर