‘ऊनको स्वीटर ‘ को सुन्दर टिजर

काठमाण्डौँ । चैत्र २९ मा कर्मा रिलिज हुँदैछ र त्यसको २७ दिनपछि विपिन कार्कीको अर्को फिल्म ‘ऊनको स्वीटर ‘  पनि रिलिज हुँदैछ। कर्मा को टिजर र गीतले दर्शकहरूमा एक प्रकारको उत्साह जगाइरहेका बेला उनको स्वीटर को सुन्दर टिजर सार्वजनिक भएको छ।

गीति कथामा उत्कृष्ट भिडियोहरू निर्माण गर्दै आएका निर्देशक नविन चौहानको डेब्यू निर्देशनमा बनेको ‘ऊनको स्वीटर ‘ मा विपिन कार्की लभरब्वाइ बनेका छन् भने उनको प्रेमिकाको रूपमा मिरुना मगर देखिएकी छिन्। उहिले उहिले डायरीमा अनेक सजावट र शायरी गर्दै अटो भर्ने चलन थियो, जहाँ युवायुवतीबीच प्रेम साटासाट हुन्थ्यो। यादहरू संकलन गरेर राखिन्थ्यो, जसलाई निर्देशक चौहानले फिल्मको पर्दाबाट सुन्दर ढंगले यो पुस्तामाझ प्रस्तुत गर्ने प्रयास गरेका छन्।

राम्रो टिजर भनेको दर्शकलाई उत्साहित बनाउने एउटा ‘सिनेम्याटिक ट्रेलर स्न्याक’ हो। त्यसैले, भोलिका दिनमा यो फिल्मको ट्रेलर कुन शैलीको निस्किएला त्यो भोलि फेरी समीक्षा गरौला , तर टिजरले  आनन्द दिने खालको प्रभाव पारेको छ। सुन्दर, सौम्य, मिठो खिचाइ, पूरा आर्टिस्टिक, टिपिकल यी सबै पक्षमा निर्देशक नविन चौहानको टिमले मिहिनेत गरेको देखिन्छ। कलाकारहरूको लुक्स, निर्माण, मेकअप, र पाश्र्वध्वनिमा निकै ध्यान दिइएको छ।

फिल्मको शैलीअनुसार कुनै पनि राम्रो टिजरको सुरुवातमै पात्रहरूको इन्ट्रोडक्सन राम्रोसँग दिनुपर्छ, जुन मामलामा यो टिम सफल देखिन्छ। धराने पात्रको भूमिकामा देखिएका विपिन कार्कीले प्रेमिका फूल गुरुङलाई अटो डायरीमार्फत सम्झँदै व्यक्त गरेका मेटाफोरिक शब्दहरू अत्यन्त सुन्दर लाग्छन्। मेटाफोरका रूपमा “कञ्चनजङ्घा हिमालको नजिकबाट बगेको तमोर नदीजत्रै लामा याद” र “कुर्भकर्ण हिमाल (फक्ताङलुङ) जत्रै अग्ला” हुन् भन्ने न्यारेसनको लेखन र डेलिभरी पर्फेक्ट देखिन्छ।

टिजरले फिल्मको कथा कस्तो भन्ने संकेत दिनुपर्छ, तर प्लट खुलाउनु हुँदैन, यो मामलामा पनि उनको स्वीटर का निर्देशक सफल छन्। अब ट्रेलर कस्तो आउँछ भन्ने प्रतीक्षा गरौं, तर टिजरले दर्शकलाई लोभ्याउने काम भने सफलतापूर्वक गरेको छ। हेर्नुहोस ।