काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म बिगुल को निर्माण घोषणा गरिएको छ। यस फिल्ममा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन्।
निर्माण टिमले हालै नरेनसँग लिखित सम्झौता गर्दै उनलाई फिल्मको मुख्य पात्रका रूपमा तय गरेको हो। बिगुल को सांकेतिक अर्थ अन्यायविरुद्ध आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ।
एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेका नरेन पछिल्लो पटक बाह्र गाउँ मा देखिएका थिए। उनले हमेशा बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका थिए भने बुलाकी बाट सर्वाधिक चर्चामा आए। बुलाकी मा उत्कृष्ट अभिनय प्रस्तुत गरेबापत उनले विभिन्न फिल्म फेस्टिभलहरूमा ‘सर्वश्रेष्ठ अभिनेता’ को अवार्ड समेत जितेका छन्।
अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको बिगुल मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ। निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ।
फिल्मलाई निर्देशक रमेश कोइरालाले निर्देशन गर्नेछन्। उनले यसअघि लीला र नीरमाया निर्देशन गरिसकेका छन्। मौनता श्रेष्ठको लेखन रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा रहनेछिन्।
MGP ब्यानरमा निर्माण हुने फिल्मको छायांकन शिव ढकालले गर्नेछन्। निर्माण पक्षका अनुसार नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्तसहित छायांकन सुरु गरिनेछ।
News Filmy Newsportal / Nepal