काठमाडौं – नेपाली फिल्म इतिहासमा नयाँ कलाकार र निर्देशकहरूलाई मौका दिन सफल फ्रेन्चाइज होस्टेल को तेस्रो श्रृंखला होस्टेल -३ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
यो फ्रेन्चाइजले सधैं नयाँ अनुहारहरूलाई रजतपटमा चम्काउँदै आएको छ। पहिलो श्रृंखलाले अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, र गौरव पहारीलाई दर्शकमाझ चिनाएको थियो। दोस्रो श्रृंखलाले स्वस्तिमा खड्का र सुशिल श्रेष्ठलाई डेब्यू गराउँदै नेपाली सिने उद्योगमा नयाँ ऊर्जा भरेको थियो।
तेस्रो श्रृंखलाले पनि आफ्नो परम्परा जारी राख्दै सामाजिक सञ्जालमा लोकप्रिय रहेका नयाँ अनुहारहरूको फिल्मी डेब्यू गराउँदैछ। यो फिल्ममार्फत दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका सशान कँडेलले निर्देशकका रूपमा आफ्नो फिल्मी यात्रा सुरु गर्दैछन्।
पहिले सार्वजनिक पोस्टरमा चार मुख्य अभिनेता – आशिष घिमिरे, (लोकप्रिय हाँस्य कलाकार केदार घिमिरे माग्ने बुढाको छोरा ) , पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई रमाइलो मुद्रामा प्रस्तुत गरिएको थियो।
नयाँ पोस्टरमा यी कलाकारहरूसँगै अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुलीलाई पनि समावेश गरिएको छ। होस्टेल -३ ले कलेज लाईफको स्ट्रगल, फ्रेन्डिसप र रमाइलो क्षणहरूको कथा प्रस्तुत गर्ने जनाइएको छ। फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा स्वयं निर्देशक सशान कँडेलको हो।

फागुन २३ गते प्रदर्शनमा आउने होस्टेल -३ मा सुरेश कँडेल, कर्ण कार्की, र गोविन्द अधिकारी निर्माताका रूपमा रहेका छन् भने शंकर कोइरालाले कार्यकारी निर्माताको भूमिका निर्वाह गरेका छन्।
सह-निर्मातामा शिशिर ज्ञवाली, कुन्दन गुप्ता, र अनिस सिग्देल रहेका छन्। फिल्ममा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, र आशिष् पुरुषको पनि अभिनय रहेको छ। प्राविधिक पक्षमा अर्जुन तिवारीले छायांकनको जिम्मा लिएका छन्। बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफरका रूपमा छन्।
News Filmy Newsportal / Nepal