यहि पौष २६ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्ममा सृजनाले दयाहाङको जोडी बनेर पर्दामा देखिने अवसर पाएकी छिन्। सृजनालाई नायिकाका रूपमा डेब्यू गराउने अवसर भने ‘कार्साङ’ का निर्माता तथा छायाँकार पुरुषोत्तम प्रधानले दिएका हुन्।
३० वर्षीया सृजनाले आफ्नो बाल्यकाल तेह्रथुममा रहेको आफ्नो मामाघरमा बिताएकी हुन्। १२ वर्षको उमेरमा उनी झापाको धर्मपुर बसाइ सरेकी थिइन्। पछिल्लो समय उनी लण्डनमा बस्दै आएकी छिन्। सञ्चारकर्मी, कार्यक्रम प्रस्तोता, लोकप्रिय भ्लगर र करिब ४० वटा म्यूजिक भिडियोमा मोडलिङ गरेकी सृजना नेपाली फिल्म ‘जारी’ का निर्माताहरु मध्येकी एक निर्माता पनि हुन ।

सृजनाले २०१८ मा अनुप बरालको एक्टर स्टूडियोबाट ६ महिनाको अभिनय तालिम लिएकी थिइन्। यस क्रममा उनले ‘कथा देश ३’ नाटकमा पनि अभिनय गरिसकेकी छिन्। अभिनयमा रुचि राख्दै आएकी सृजनाले ‘कार्साङ’ मा अभिनय गर्ने अवसरलाई आफ्नो जीवनकै महत्त्वपूर्ण मोडको रूपमा लिएकी छिन्। उनले यस फिल्ममा शेर्पा समुदायकी एक ग्रामिण महिलाको मुख्य भूमिका निर्वाह गरेकी छिन ।

सृजना दुई सन्तानकी आमा हुन्। उनले आफ्नो एक महिनाकी छोरीलाई छाडेर कार्साङ को सुटिङमा सामेल भएकी थिइन्। उनका अनुसार, अभिनयप्रति गहिरो लगावका कारण उनले यो चुनौतीलाई सहजै सामना गरेकी थिइन्। फिल्मका सार्वजनिक सामग्रीहरू हेर्दा सृजनाको अभिनयलाई दर्शकले निकै रुचाउने अनुमान गरिएको छ। नेपाली फिल्म क्षेत्रमा हिरोइन भई रहेर लामो समय टिकिरहनु चानचुने कुरा हैन तसर्थ कार्साङको रिलिज सँगै हिरोइनको रुपमा सृजनाको अग्नी परीक्षा सुरु हुँदैछ अब ।

सानैदेखि अभिनेत्री करिश्मा मानन्धरको फ्यान रहेकी सृजनालाई विपना थापा र रेखा थापा पनि मन पर्छन्। अभिनेताहरूमा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की र नजिर हुसेन उनको प्रिय कलाकार हुन्। यम शेर्पाद्धारा निर्देशित कार्साङको ट्रेलर र गीतमा सृजनाको अभिनय हेर्नुहोस ।
News Filmy Newsportal / Nepal