आजका समाचार : बलिदानको सेटमा कालिमाताको भब्य मुर्ति देखि पूर्णबहादुरको सारंगीका निर्देशकको नयाँ फिल्म

काठमाण्डौँ ।  पौषको जाडोमा हलमा दर्शकको चहलपहल कम भएतापनि फिल्म नगरीमा अन्य गतिविधि भने ज्यादा भईरहेका छन ।

सम्भवत आउँने बर्ष २ सय वटा फिल्म बन्नेछन जसका खबरहरु दिन प्रतिदिन बाहिरिने क्रममा छ । आज पौषको २१ गते लाग्दा केही समाचारहरु बाहिरिएका छन जस अन्र्तगत हाल फ्लोरमा रहेको बलिदानको सेटको नयाँ गतिविधि देखि लिएर एतिहासिक रेकर्ड बनाएको पूर्णबहादुरको सारंगीका निर्देशकको नयाँ फिल्मको जानकारी सम्म उल्लेख गरेका छौँ । के के खबर आज बाहिरिए त पढ्नुस तल ।

बलिदानको सेटमा कालिमाताको भब्य मुर्ति :  सधै उच्चकोटीको फिल्म बनाउँदै आएका निर्माता सन्तोष सेन आफैले निर्देशन गरिरहेको फिल्म बलिदानको छायाँकन पूर्वका विभिन्न स्थानमा भईरहेको छ ।

फिल्मको कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने गरी ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गर्दै बलिदानको छायाँकन भईरहेको खबर छ ।

भारतमा तयार गरियो मूर्ति : निर्देशक सन्तोष सेनले नेपालभर उपयुक्त मूर्ति खोज्दा पनि नपाएपछि, निर्माण टोलीले भारतको कोलकाता गएर त्यहाँका कुशल कलाकारहरूसँग सहकार्यमा यो अद्वितीय मूर्ति तयार गराएको बताए। “फिल्मका लागि चाहिएको भव्यता दिने कालीमाताको मूर्ति देशमा फेला नपरेकाले हामीले कोलकाताका कलाकारहरूसँग मिलेर मूर्ति निर्माण गर्यौं,” सेनले बताए।

मोरङको हसिना सिमसारमा ‘काली चौर’ : मूर्ति निर्माणपछि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदान नयाँ पहिचानसहित ‘काली चौर’को रूपमा चर्चित बन्न पुगेको छ। त्यहाँ निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गरेका छन्।

एक्सन दृश्यमा दक्षिण भारतीय प्रभाव :  फिल्मका एक्सन दृश्यहरूलाई रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले काम गरिरहेको छ। अत्याधुनिक प्रविधिको प्रयोगले फिल्मका दृश्यहरूलाई थप प्रभावशाली बनाउने लक्ष्य राखिएको छ।

कथा र निर्माण :  ‘बलिदान’को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित छ। फिल्म ‘आसुसेन फिल्म्स प्रा।लि।’ को प्रस्तुति हो। निर्माण टोलीमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह(निर्माताको भूमिकामा छन्।

छायाङ्कन र प्रदर्शन : निर्देशक सन्तोष सेनका अनुसार, फिल्मको छायाङ्कन लगभग पूरा भइसकेको छ। छायाङ्कन सम्पन्न भएपछि टिजरसहित प्रदर्शन मिति घोषणा गरिनेछ।

गायक टंक बुढाथोकीले बनाउँने फिल्मको कलाकार लाईनअप सार्वजनिक

 

आफ्नो लोकप्रिय गीत मन विनाको धन ठूलो कि धन विनाको मनलाई फिल्मको टाइटलको रुपमा परिणत गर्दै संगीतकार टंक बुढाथोकी आफैले निर्माण एवं निर्देशन गर्न लागेको फिल्मका कलाकारहरु लाइनअप सार्वजनिक गरिएको छ ।

फिल्मको मुख्य भूमिकामा चर्चित बालगायक अशोक दर्जी रहनेछन्। अन्य कलाकारमा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ र साम्राज्ञी थापाको अभिनय रहनेछ। निर्माता तथा निर्देशक बुढाथोकीले केही प्रमुख कलाकारहरू अझै फाइनल हुन बाँकी रहेको र छिट्टै घोषणा गरिने बताए।

कथा, निर्माण, र वितरण : फिल्मको कथा टंक बुढाथोकी आफैंले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्। छायांकनको जिम्मा सौरभ लामालाई दिइएको छ। सामाजिक विषयवस्तुमा आधारित यस फिल्मलाई बैंकटेश इन्टरटेन्टमेन्टले वितरण गर्नेछ।

अशोक दर्जीको पहिलो प्रमुख भूमिका : बाल गायक अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत प्रसिद्धि पाएका थिए। यस गीतले उनको जीवनलाई नयाँ मोड दिएको थियो। हाल दर्जी काठमाडौँमा कक्षा ८ मा अध्ययनरत छन्। अभिभावकत्व लिँदै अशोकलाई पढाइका लागि काठमाडौं ल्याएका टंक बुढाथोकीले दर्जनौं फिल्ममा संगीत, शब्द, र स्वर प्रदान गरिसकेका छन्। यस फिल्ममा पनि बुढाथोकीकै संगीत रहनेछ।फिल्म छिट्टै फ्लोरमा जाने तयारीमा छ।
फ्लोरमा छिट्टै : फिल्म छिट्टै फ्लोरमा जाने तयारीमा छ। 

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म घोषणा

 

हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ बाट चर्चामा आएका निर्देशक सरोज पौडेलले आफ्नो नयाँ फिल्म ‘कोसेढुंगा’ को निर्माण घोषणा गरेका छन्। निर्देशक पौडेलले थिम पोस्टर सार्वजनिक गर्दै यो प्रोजेक्टको बारेमा जानकारी दिएका हुन्।

थिम पोस्टर र कथाको झलक : ‘कोसेढुंगा’ को थिम पोस्टरले फिल्मको विषयवस्तुबारे संकेत गर्छ। पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिलाको चित्रण गरिएको छ। उनको अगाडि एउटा अग्लो रुख र पहाडी शैलीको घर देखिन्छ भने परपर क्षितिजसम्मको दृश्य छ।
पोस्टरले पहाडी जीवनका कठिन संघर्ष, अग्ला सपना, र तिनलाई भेट्न नसकिने क्षितिजको प्रतीक प्रस्तुत गर्छ। महिला पात्रले पहाडलाई हेर्दै गरेको दृश्यले पहाडी जीवन छोडेर नयाँ सपना पछ्याउने चाहना झल्काउँछ। यसले फिल्म सोसल ड्रामा भएको प्रस्ट पार्छ, जसमा अभाव, सपना, र संघर्षको कथा भनिनेछ।

निर्माण टिम र प्राविधिक पक्ष
1) कोसेढुंगा’ नरदेवी फिल्म्सको प्रस्तुति हो।
2) लगानीकर्ता :  प्रेविल कँडेल र हरि महत
3) कार्यकारी निर्माता : दिनेश खड्का
4) छायाँकन:  बाबु श्रेष्ठ
5)  सम्पादन :  सुरेन्द्र पौडेल
6) संगीत :  रिदम कँडेल र आषिश अविरल
7)  कास्टिङ डिरेक्टर : सुवलमणि सापकोटा

रिलिज र कास्ट

निर्माण पक्षले फिल्म २०८२ सालमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिएको छ। मुख्य भूमिकामा को(को कलाकार हुने भन्ने खुलाइएको छैन।
निर्देशकको भनाइ छ । निर्देशक पौडेलले भने, “पूर्ण बहादुरको सारङ्गीले दर्शकहरूको माया पायो। त्यसैगरी ‘कोसेढुंगा’ पनि सबैको मन जित्ने प्रयास हुनेछ। सिनेमा, कथा, र कलाकारबारे छिट्टै जानकारी दिनेछौँ।”

‘पूर्ण बहादुरको सारङ्गी’को सफलतासँग जोडिएको अपेक्षा

‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली बक्सअफिसमा झन्डै ५० करोड कमाइ गरेर इतिहास रच्ने फिल्म बनेको थियो। त्यही निर्देशकको अर्को प्रोजेक्ट ‘कोसेढुंगा’बाट पनि उच्च अपेक्षा राखिएको छ। यसका लागि नेपाली सिनेप्रेमीहरू अत्यन्त उत्सुक छन्। ‘कोसेढुंगा’ले पनि नेपाली फिल्म उद्योगमा नयाँ उचाइ दिने विश्वास लिइएको छ।

बहुप्रतीक्षित फिल्म ‘जुनाः एक व्यथा’को दोस्रो पोस्टर सार्वजनिक

बाल विवाह र महिला हिंसा जस्ता कुप्रथालाई निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ।

आगामी माघ २५ गते रिलिज हुने यस फिल्मको पोस्टरमा मुख्य कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ। अस्मिता ढकाल विवाहित महिलाको भूमिकामा छन्, जहाँ उनी काखमा सन्तान बोकेर निराश भावमा कतै टोलाइरहेकी देखिन्छिन्। त्यस्तै, कृष्णप्रसाद धिताल दाह्री(जुँगा र दौरा टोपीको गेटअपमा प्रस्तुत भएका छन्। उनको अनुहारमा रिसको भाव स्पष्ट देखिन्छ, र कर्के नजरले उनी कोहीप्रति आक्रोशित भएको संकेत गर्दछ। यस फिल्मलाई जीवन सेञ्चुरीले निर्देशन गरेका हुन ।