काठमाडौं । नेपाली फिल्म क्षेत्रकी अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी सुहाना थापा पहिलो पटक एउटै फिल्ममा देखिने भएका छन् । हरि लम्सालको डेब्यु निर्देशन रहने फिल्म ‘बाः एक योद्धा’मा आमा–छोरी मुख्य भूमिकामा रहने भएका हुन् ।
हाल काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको काम दुई सातादेखि निरन्तर चलिरहेको छ । निर्माण पक्षले सुरुमा कलाकारको नाम गोप्य राखे पनि अहिले झरना र सुहाना फिल्ममा रहेको पुष्टि भएको हो ।
चैत्र ९ गते पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्दै छायांकन सुरु गरिएको फिल्म ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको छ । फिल्मले नेपाली समाजमा ‘बुवा’को भूमिका, त्याग र संघर्षको कथा प्रस्तुत गर्नेछ ।
निर्देशक लम्सालले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् । उनले फिल्मको कथा र पटकथा पनि आफैं तयार पारेका छन् ।
वसन्त लम्साल निर्माता रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन रहेको छ भने मुख्य सहायक निर्देशक तारा नाथ न्यौपाने छन् । प्रदर्शन मिति भने पछि घोषणा गरिने जनाइएको छ ।
News Filmy Newsportal / Nepal