नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन, ट्रेलरमा बेरोजगारी र रित्तिँदै गएको गाउँको कथा

काठमाडौं । आगामी नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानीको समस्या जस्ता समसामयिक विषयवस्तु चित्रण गरिएको छ । निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले वर्तमान नेपालको यथार्थ कथा प्रस्तुत गरेको बताए ।

उनका अनुसार पहाडको सुन्दरता र सद्भावसँगै क्रमशः रित्तिँदै गएको गाउँको कथा फिल्ममा समेटिएको छ । “यो कथा पहाडमा सेट गरिएको भए पनि समग्र देशकै प्रतिनिधित्व गर्छ,” उनले भने ।

फिल्ममा दनकृष्ण श्रेष्ठ, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नवअभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ । निर्देशक घिमिरेले केही वर्षपछि उपयुक्त कथावस्तु चयन गरेर फिल्म निर्माण गरेको बताए ।

उनले मनोरञ्जनसँगै सामाजिक सन्देश दिन खोजिएको उल्लेख गर्दै ग्रामीण सौन्दर्य, युवाको विदेश पलायन र गाउँप्रतिको महत्वलाई फिल्ममा प्रस्तुत गरिएको जानकारी दिए ।फिल्ममा विशेषगरी युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएको पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’ मार्फत निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई अभिनेत्रीका रूपमा डेब्यु गराएका छन् । साथै उनकी जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरका रूपमा आबद्ध छिन् ।

फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन् । उनले यसअघि ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ जस्ता फिल्ममा निर्देशक घिमिरेसँग सहकार्य गरिसकेका छन् ।फिल्ममा रञ्जित सिंह गजमेरको संगीत, कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन् ।फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन् ।

Leave a Reply