अनमोलको जन्मदिनमा ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा

काठमाडौं । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा गरिएको छ। प्रमुख अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी वर्ष २०८३ को दशैंको फूलपाती (असोज ३० / अक्टोबर १६) मा रिलिज हुने जानकारी दिएको हो।

सार्वजनिक पोस्टरमा अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पूर्णिमाको जूनलाई पृष्ठभूमिमा राखिएको पोस्टरमा अनमोल फरक अवतारमा देखिएका छन् भने प्रिन्सीसँगको भावनात्मक प्रस्तुति झल्किन्छ।
पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनको उपहारका रूपमा दर्शकलाई फिल्म प्रस्तुत गरिएको उल्लेख गर्दै ‘दशैंमा भेटौंला’ सन्देश दिएका छन्। उनले दर्शकबाट प्राप्त माया र समर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन्।

ग्रामीण परिवेशमा आधारित प्रेमकथामा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन्। निर्माता केसीका अनुसार फिल्मले पुरानो नेपाली समाजको झल्कोसँगै वर्तमानको अनुभूति पनि दिनेछ।
फिल्मलाई अभिनेता भुवन केसीले निर्देशन गरेका हुन्। उनी स्वयं पनि फिल्ममा प्रमुख भूमिकामा देखिनेछन्।

फिल्ममा भुवन केसी , अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहेको छ।

काठमाडौं, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको फिल्मको करिब १० प्रतिशत काम बाँकी रहेको छ। कार्यकारी निर्माता तेजविक्रम केसीका अनुसार नयाँ वर्ष २०८३ को आसपास पोखरामा बाँकी छायांकन पूरा गरिनेछ।

फिल्मको कथा सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलले लेखेका हुन् भने छायांकन राजेश श्रेष्ठले गरेका छन्।

Leave a Reply