एसियाबाट ह्युस्टनसम्म ‘आँखा’को यात्रा, अब ‘रेमी अवार्ड’को दौडमा

काठमाडौं । नेपाली फिल्म ‘क्रलिङ क्रोज: आँखा’ले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावशाली यात्रा जारी राखेको छ। एसिया प्यासिफिकमा ‘बेस्ट फिल्म’ जितेको यो चलचित्र अब अमेरिकाको प्रतिष्ठित वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ।

निर्देशक जौन योञ्जनको यो फिल्म आगामी अप्रिल २४ देखि मे ३ सम्म टेक्सासको ह्युस्टनमा हुने महोत्सवमा विश्वभरका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि ६२औँ एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’ जित्दै इतिहास रचेको ‘आँखा’ उक्त सम्मान पाउने पहिलो नेपाली फिल्म बनेको थियो। अब ह्युस्टनमा प्राप्त मनोनयनले यसको अन्तर्राष्ट्रिय यात्रालाई थप उचाइ दिएको छ।

विश्वकै पुराना स्वतन्त्र फिल्म महोत्सवमध्ये एक मानिने यस फेस्टिभलले स्पिलबर्गदेखि आङ लीसम्मका चर्चित निर्देशकलाई सुरुवाती पहिचान दिएको इतिहास बोकेको छ।

‘आँखा’ले सुकुम्बासी बस्तीको जीवन, संघर्ष र यथार्थलाई मार्मिक ढंगले चित्रण गर्छ। फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक योञ्जन भन्छन्, “यो यात्राले नेपाली कथाले पनि विश्वका दर्शकको मन छोउन सक्छ भन्ने प्रमाणित गरेको छ।”

Leave a Reply