‘माया भनेकै यस्तो होला’को छायांकन सुरु

काठमाडौं । रेखा थापाको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘माया भनेकै यस्तो होला’को छायांकन सुरु भएको छ।

गत फागुन ३ गते महाशिवरात्रीको अवसर पारेर निर्माण घोषणा गरिएको फिल्मको सोमबार काठमाडौंको Shivapuri National Parkस्थित रोयल ट्युलिप क्षेत्रमा सुटिङ सुरु गरिएको हो।

‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखा झण्डै आठ वर्षपछि पुनः निर्देशनमा फर्किएकी हुन्। यस फिल्ममा उनी अभिनय नगरी पूर्ण रूपमा निर्देशनमै केन्द्रित हुने जनाइएको छ।

रेखाले यसपटक आफ्नै ब्यानर रेखा फिल्मस्भन्दा बाहिर गएर दिया एण्ड अमु फिल्मस्को ब्यानरमा काम गरिरहेकी छिन्।
फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र लामो समयपछि चलचित्रमा फर्किएका दिल श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन्।

यस फिल्मको अर्को आकर्षण भनेको तीन पूर्व मिस नेपालहरूको उपस्थिति हो। सृष्टि श्रेष्ठ , नम्रता श्रेष्ठ र नीति शाहले फिल्ममा प्रमुख भूमिका निर्वाह गर्दैछन्।यसअघि निर्माण टिमले फिल्मको घोषणा गर्दै दुई पोस्टर सार्वजनिक गरेको थियो। पोस्टरहरूमा कलाकारहरूको रोमान्टिक र भावुक अवतार देखाइएको थियो।

एउटा पोस्टरमा दिल श्रेष्ठसँग सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह देखिएका थिए भने अर्को पोस्टरमा दिल श्रेष्ठ र मदनकृष्ण श्रेष्ठको भावुक दृश्य प्रस्तुत गरिएको थियो।

दिया एण्ड अमु फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायत कलाकारको अभिनय रहनेछ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको फिल्मले सुमधुर प्रेम कथामार्फत सामाजिक भावनालाई उठान गर्ने बताइएको छ। फिल्मको कथा तथा पटकथा धुर्व लम्सालले लेखेका हुन्। उनी पनि करिब एक दशकपछि फिल्म लेखनमा फर्किएका हुन्।

फिल्मको छायांकन सुदिप बरालले गर्नेछन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक रहेका छन्। फिल्ममा राजन घिमिरे फिल्म कोअर्डिनेटर छन् भने प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको ड्रेस डिजाइन र प्रिया कार्कीको मेकअप रहनेछ।

निर्माण टिमले फिल्मलाई आगामी वर्षको तीजको अवसर पारेर देशभर प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

Leave a Reply