काठमाडौं । फिल्म ‘परालको आगो’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा श्रीमान–श्रीमतीबीचको मनमुटाव र झगडाको दृश्य प्रस्तुत गरिएको छ। टिजरमा प्रकाश सपुत र सुहाना थापा श्रीमान–श्रीमतीको भूमिकामा देखिएका छन्। पँधेरोबाट पानी लिएर ढिला घर फर्किएको निहुँमा श्रीमानले श्रीमतीलाई कुटपिट गर्ने दृश्य टिजरमा देखाइएको छ।
छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र उनकी श्रीमती झगडा छुट्याउन जाँदा ‘अर्काको लोग्ने–स्वास्नीको झगडामा नपरेकै राम्रो’ भन्ने संवाद प्रकाश सपुतले बोलेको देखिन्छ।
टिजरले ग्रामीण परिवेशमा हुने नेपाली समाजको यथार्थ झल्काउने प्रयास गरेको छ। टिजरमा सुहाना थापा, प्रकाश सपुत र सौगात मल्ललाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ।
गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। सुशील पोखरेल निर्माता रहेको फिल्मको कथा तथा पटकथा सुशील देवकोटाले लेखेका छन्।
फिल्म आगामी बैशाख ११ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ।
News Filmy Newsportal / Nepal