काठमाडौं। नेपाली फिचर फिल्म ‘एक मुठ्ठी बादल’ आउँदो वर्ष जेठ १ गतेबाट प्रदर्शनमा आउँदैछ। निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फिल्मको प्रदर्शन मिति तय गरेको हो।
फिल्ममा प्रायः सबै विधामा महिलाको नेतृत्व रहेको छ र यसलाई गौथली इन्टरटेनमेन्ट र मन प्रडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। नेपालमा वितरण आरआर फिल्म्सले गर्नेछ।
फिल्मले तीन पुस्तादेखिको भावनात्मक उतारचढाव र नेपाली समाजको तीव्र परिवर्तनको पृष्ठभूमिमा परिवारका सदस्यबीचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा देखाउने बताइएको छ।
फिल्म लेखन तथा निर्देशन सहारा शर्माले गरेकी हुन्। अमेरिका, न्युयोर्कमा बस्ने सहाराले यसअघि ‘चेजिङ रेन्बोज’ निर्देशन गरेकी थिइन्, जुन २०१३ मा काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ फिल्म थियो। उनी फिक्सन फिचरका साथ महोत्सव उद्घाटन गर्ने सबैभन्दा कान्छी महिला निर्देशक बनेकी र नेपाली पनोरोमा तर्फ शीर्ष पुरस्कार जितेकी छन्।
‘एक मुठ्ठी बादल’ ले पनि थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ। फिल्मले युरोपियन पोस्ट–प्रोडक्सन ग्रान्ट ह्युबर्ट बल्स फन्ड प्राप्त गर्ने महिला निर्देशक निर्देशित पहिलो नेपाली फिल्मको रूपमा इतिहास रचेको छ।
फिल्मले विश्वका प्रतिष्ठित ल्याबसँग पनि सहकार्यको अवसर पाएको थियो। २०२१ मा निर्माता अभिमन्यु दीक्षितले भारतको एनएफडिसी फिल्म बजारमा रोटरेड्याम ल्याब अवार्ड प्राप्त गरेका थिए। त्यसैगरी फिल्मले फ्रान्सको कान फिल्म फेस्टिभल, स्विट्जरल्याण्डको लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी र बंगलादेशको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा सहभागिता जनाएको छ।
फिल्मको निर्माण अभिमन्यु दीक्षितले गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता छन्। निर्माण टोलीमा जर्मनी बसोबास गर्ने निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्।
फिल्ममा प्रमुख कलाकारहरूमध्ये आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी छन्। आँचल शर्माले माइलीको भूमिकामा मुख्य भूमिका निभाएकी छन् भने निशा शर्मा तीन दशकपछि पुनः अभिनयमा फर्किएकी छिन्। उषा रजक आँचलको दिदीको भूमिकामा छन्।
छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन्, जसले फिचर फिल्म छायांकन गर्ने पहिलो भियतनामी महिलाको रूपमा इतिहास रचेकी थिइन्। यो उनका सातौं फिचर फिल्म हुन्। प्रडक्सन डिजाइन भारतकी यशस्वी सभरवालले गरेकी हुन्। सम्पादन भारतीय सम्पादक दीपा भाटियाद्वारा गरिएको छ भने कलर ग्रेडिङ थाइल्यान्डको ह्वाइट लाइटले गरेको छ।
नेपालबाट फिल्मका विधागत प्रमुखहरूमा अग्रणी ठकुरी झा (कला), जानकी कडायत (भेषभूषा), कीर्ति जोशी (मेकअप) रहेका छन्। निर्देशक ची मुसी चीकी मर्णा जेम्स प्रमुख सहायक निर्देशक हुन् भने शर्मिला आले र मीरा खड्का सहायक निर्देशकको रूपमा सहयोगी छन्।
News Filmy Newsportal / Nepal