काठमाडौं। अभिनेत्री रेखा थापा करिब ८ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किने भएकी छन्। उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को निर्माण घोषणा आइतबार महाशिवरात्रिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो। यो रेखाको तेस्रो निर्देशकीय फिल्म हुनेछ। यसअघि उनले हिम्मतवाली र मालिका निर्देशन गरिसकेकी छन्।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण हुने यस फिल्ममा नयाँ र पुराना पुस्ताका कलाकारहरूको समावेश गरिएको छ। कलाकारहरूमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेल लगायत रहेका छन्।
फिल्मको निर्माण घोषणासँगै दुईवटा पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टरमा त्रिकोणात्मक प्रेम सम्बन्ध झल्काइएको छ भने अर्कोमा बाबु–छोराको आत्मीयता देखाइएको छ। यसले प्रेम सम्बन्धमा आउने उतारचढाव र सन्तानको कर्तव्यलाई मुख्य कथावस्तु बनाइएको संकेत गर्छ। यद्यपि, निर्माण पक्षले कथावस्तुबारे औपचारिक रूपमा थप जानकारी सार्वजनिक गरेको छैन।
हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको यस फिल्ममा सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहनेछ। ध्रुव लम्सालको लेखन रहेको फिल्ममा रंग पत्रकार राजन घिमिरे को-अर्डिनेटरका रूपमा संलग्न छन्। आगामी तीजमा प्रदर्शन गर्ने लक्ष्यसहित फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरू गर्ने तयारी निर्माण पक्षले जनाएको छ।
News Filmy Newsportal / Nepal