माघमा ९ फिल्म प्रदर्शनको तयारी , कस्तो होला व्यापार ?

काठमाडौं । चिसो मौसम भए पनि नेपाली फिल्मको बजार माघ महिनामा तातिने देखिएको छ। यो महिना साना र ठूला बजेटका गरी ९ वटा नेपाली फिल्म देशभर प्रदर्शनमा आउने पक्का भएको छ। वितरक र हल सञ्चालकहरूका अनुसार माघमा दर्शकले सामाजिक, एक्सन, कमेडी, थ्रिलर र प्रेमकथासम्मका विविध विधाका फिल्म हेर्न पाउनेछन्।

माघ १ गते: तीन फिल्मको भिडन्त

माघ १ गतेदेखि ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’ एकसाथ प्रदर्शनमा आउने तयारीमा छन्।

याम शेर्पाको लेखन तथा निर्देशनमा बनेको ‘मिरमिरे’ बाबु–छोरीको सम्बन्ध र गाउँको जीवनशैलीमा आधारित छ। फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा छन्।

मरिचमान श्रेष्ठको लेखन तथा डेब्यु निर्देशनमा बनेको ‘गोबर गणेश’ को कथावस्तु सार्वजनिक गरिएको छैन। फिल्ममा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा सिवाकोटी मुख्य भूमिकामा देखिनेछन्। बुद्धि तामाङलगायत कलाकारको पनि अभिनय छ।

निगम श्रेष्ठको निर्देशनमा बनेको ‘भाइरल गोर्खे’ सामाजिक सञ्जालमा भाइरल भएपछि जीवनमा आउने परिवर्तनलाई केन्द्रमा राखिएको छ। फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। ऋषि धमला विशेष भूमिकामा देखिनेछन्।

माघ ९ गते: एक्सन र राजनीतिक कथा

माघ ९ गते ‘परिवर्तन’ र ‘बिगुल’ प्रदर्शनमा आउनेछन्।

विजय केरुङको निर्देशनमा बनेको ‘परिवर्तन’ एक्सन–सस्पेन्स जनरामा निर्माण गरिएको हो। फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर र सरोज खनालको अभिनय छ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ सामाजिक–राजनीतिक विषयवस्तुमा आधारित छ। फिल्ममा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, शिशिर वाङ्देललगायत कलाकार देखिनेछन्।

माघ १६ गते: आमा र थ्रिलर कथा

माघ १६ गते ‘आ बाट आमा’ र ‘द ब्लु लाइट’ एकसाथ रिलिज हुँदैछन्।

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा’ आमा–छोराबीचको सम्बन्धमा आधारित छ। फिल्ममा प्रदीप रावत, विपना थापा, पल शाहलगायत कलाकार छन्।

बलिराम चौहानको निर्देशनमा बनेको ‘द ब्लु लाइट’ साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको हो। फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुषमान देशराज जोशी र सृष्टि श्रेष्ठको अभिनय छ।

माघ २३ गते: प्रेम र मनोविज्ञान

माघ २३ गते ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आउनेछन्।

दिनेश राउतको लेखन तथा निर्देशनमा बनेको ‘कुमारी’ प्रेमकथामा आधारित छ। फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारीले रजतपटमा डेब्यु गर्दैछन्।

सुदिप्ताको लेखन तथा निर्देशनमा बनेको ‘रमिताको पिरती’ युवतीको मनोविज्ञानमा आधारित कथा हो। फिल्ममा आना शर्मा र धिरज मगर मुख्य भूमिकामा छन्।

Leave a Reply