काठमाडौं । आगामी माघ २३ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘कुमारी’ ले प्रवर्द्धनका लागि नेपालमै अहिलेसम्मकै सबैभन्दा ठुलो पोस्टर सार्वजनिक गरेको छ। धरानस्थित फ्रेन्ड्स सिनेमा हल रहेको ८ तल्ले भवन पूरै छोपिने गरी फिल्मको होर्डिङ बोर्ड राखिएको हो।
४० बाई ८० फिट (३२०० स्क्वायर फिट) क्षेत्रफलको उक्त पोस्टर छपाइमै करिब ८० हजार रुपैयाँ खर्च भएको निर्माण पक्षले जनाएको छ। नेपालमै छापिएका र जडान गरिएका पोस्टरहरूमध्ये ‘कुमारी’ को पोस्टर सबैभन्दा ठुलो भएको दाबी गरिएको छ। धरानको व्यस्त क्षेत्रमा राखिएको विशाल पोस्टरले फिल्मप्रति दर्शकको ध्यान तानेको छ।
फिल्मको गीत ‘डोको बुन्ने निगाली चोयाले’ हाल चर्चामा छ। उक्त गीतका गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ लाई केन्द्रमा राख्दै फिल्मले पाँच सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गरिरहेको छ। नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा कन्सर्ट आयोजना हुने निर्माण पक्षले जनाएको छ।
कन्सर्टमा ब्यान्डसँगै फिल्मका प्रमुख कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतको पनि सहभागिता रहनेछ।
लभस्टोरी निर्देशनमा परिचित दिनेश राउतको यस फिल्मलाई प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।
News Filmy Newsportal / Nepal