काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको सम्बन्धसँगै सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन्।
छोरीसँग आफ्ना मुख्य कुरा लुकाएर छोरीका अगाडि खुसी देखिने बुवाको भावनात्मक पक्षलाई ‘मिरमिरे’ले प्रस्तुत गर्ने दयाहाङको भनाइ छ। भित्रको भावनालाई कसरी संयमित ढंगले देखाउन सकिन्छ भन्नेमा आफू फिल्ममा केन्द्रित रहेको उनले बताए।
झट्ट हेर्दा बुवा–छोरीको साधारण कथा जस्तो देखिए पनि गहिरिएर हेर्दा फिल्ममा धेरै तह रहेको उनको भनाइ छ।
“झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्ता कथामा काम गर्ने रुचि राख्छु,” दयाहाङले भने, “कति दुःखी वा खुसी हुने भन्नेभन्दा पनि यो प्यासनले हेर्ने सिनेमा हो।”
‘मिरमिरे’ हेरेपछि दर्शक एकपछि अर्को सोच्न बाध्य हुने खालको कथा रहेको पनि उनले बताए। यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ। यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक छन्। फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।
News Filmy Newsportal / Nepal