‘युएनए डिजिटल’ ओटीटी लन्च, फेब्रुअरी १ देखि कन्टेन्ट प्रसारण

काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ को औपचारिक शुभारम्भ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी प्लेटफर्मको उद्घाटन गरेका हुन्।

शुभारम्भसँगै अब हलमा नदेखिएका फिल्म, सिरिज तथा अन्य कन्टेन्ट ओटीटीमार्फत हेर्न सकिने व्यवस्था सुरु भएको छ। निर्माण पक्षले ‘युएनए डिजिटल’ले नेपाली कन्टेन्टलाई विश्व बजारसम्म पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

यस प्लेटफर्मका सीईओ फिल्म वितरक तथा निर्माता उज्वल गुरागाईं हुन्। उनका अनुसार आगामी फेब्रुअरी १ (माघ १८) देखि दर्शकले फिल्म, शो तथा ओरिजिनल सिरिज हेर्न पाउनेछन्। सोही मितिबाट आईओएस, गुगल प्ले स्टोर, ब्राउजर र टिभी संस्करणमार्फत प्लेटफर्म प्रयोग गर्न सकिनेछ।

सुरुवातमा ओटीटीमार्फत आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’, अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’ तथा उज्वल गुरागाईंको निर्माणमा बनेको ‘रियल रिदम’ प्रसारण गरिने जानकारी दिइएको छ। साथै ‘चोइस’, ‘सिनेपट न्युज’, आयुषा महर्जनको होस्टमा ‘चेलीबेटी’ र ‘काठमाडौं नाइट’ पनि समावेश हुनेछन्।

सीईओ गुरागाईंका अनुसार नेपाल र विदेशका लागि छुट्टाछुट्टै ओटीटी विन्डो बनाएर कन्टेन्ट ल्याइनेछ। सब्सक्रिप्सन शुल्कबारे जानकारी छिट्टै सार्वजनिक गरिने जनाइएको छ।

शुभारम्भ कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र अभिनेता–निर्माता दीपकराज गिरीले ओटीटी प्लेटफर्म फिल्म उद्योगका लागि आवश्यक रहेको भन्दै सफलताको शुभकामना दिएका थिए।

‘युएनए डिजिटल’ ले सुरुवातमै करिब ६ करोड रुपैयाँ लगानी गर्दै सञ्चालनमा आएको जनाएको छ। भविष्यमा नेपाली भाषासँगै भारतीय, बंगलादेशी र जापानी कन्टेन्ट पनि क्रमशः प्लेटफर्ममा ल्याइने सीईओ गुरागाईंले जानकारी दिए।

Leave a Reply