‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

काठमाडौं।  नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। भारतभर ४० हलमा रिलिज भएको फिल्म हाल ६ वटा हलमा ५१ दिनदेखि निरन्तर प्रदर्शनमा रहेको निर्माण पक्षले जनाएको छ।

५१ दिनसम्म लगातार चलेका हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र भेगा सर्कल मल, सिक्किमको आईएनओएक्स वेस्ट पोइन्ट मल तथा लखनउको पिभिआर सहरगन्ज मल छन्।

नेपालमा ५१ दिनसम्म ४० भन्दा बढी हलमा प्रदर्शन हुँदै करिब १२ करोड रुपैयाँ आम्दानी गरेको ‘ऊनको स्वीटर’ले भारतमा पनि दर्शकको राम्रो साथ पाएको हो। फिल्मको भारत यात्रा सिक्किमको राजधानी गान्तोकमा प्रिमियर शोबाट सुरु भएको थियो, जहाँ प्रारम्भिक शोहरू हाउसफुल चलेका थिए।

गान्तोकपछि फिल्म नाम्ची, दार्जिलिङ, कालिम्पोङ, कर्स्याङ र सिलिगुडी हुँदै पूर्वोत्तर भारतका विभिन्न सहरमा प्रदर्शन भयो। त्यसपछि आसाम, अरुणान्चल प्रदेश, कोलकाता र दिल्लीसम्म फिल्म विस्तार भएको निर्माण पक्षले जनाएको छ।

पूर्वोत्तर र उत्तर भारतमा पाएको सफलतापछि ‘ऊनको स्वीटर’ मुम्बई हुँदै दक्षिण भारतका केरला, बैंगलोर र हैदराबादसम्म पुगेको छ। भाषा फरक भए पनि भावनात्मक कथा दर्शकले आत्मसात् गरेको निर्देशक नवीन चौहानले बताएका छन्।

विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु र सुनिल पोखरेलको अभिनय रहेको फिल्म आर्टमान्डू नेपाल प्रा.लि.को ब्यानरमा बनेको हो। भारतमा फिल्मलाई एसली प्रोडक्सन र एवन राई समूहले रिलिज गरेका हुन्।

निर्माण पक्षले ‘ऊनको स्वीटर’को भारत प्रदर्शनले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा योगदान पुगेको विश्वास व्यक्त गरेको छ।

Leave a Reply