चर्चा चुलिएसँगै ‘कुमारी’ले नेपालगन्ज देखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने

काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म कुमारी’को प्रवर्द्धनका लागि फिल्म र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ आयोजना गरिने भएको छ।

यस कन्सर्ट टुरको ट्रेलर बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा फिल्मका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले फिल्मका गीतमा लाइभ प्रस्तुति दिएका थिए।

बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यो एकीकृत प्रमोशनल टुर देशव्यापी रूपमा सञ्चालन हुनेछ। टुरमा ब्यान्डसहित फिल्मका प्रमुख कलाकार अबिशेक खड्का, आकृति राजभण्डारी र निर्देशक दिनेश राउत सहभागी हुनेछन्।

फिल्म ‘कुमारी’को साङ्गीतिक पक्षलाई केन्द्रमा राखेर नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ। आयोजकका अनुसार माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा कन्सर्ट हुनेछ। काठमाडौंको कन्सर्टमै फिल्म ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने जनाइएको छ।

हाल फिल्मको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ। गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुको छ। कार्यक्रममा केहरले यही गीतसँगै फिल्मको अर्को गीत ‘कता छौ मेरो फूल’ पनि प्रस्तुत गरेका थिए।

नेपाली प्रेम कथानकमा आधारित फिल्म ‘कुमारी’ लाई सशक्त प्रस्तुति दिने प्रयास गरिएको निर्देशक दिनेश राउतले बताए। फिल्म र सङ्गीतलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्ने उद्देश्यले देशव्यापी लाइभ कन्सर्ट टुर आयोजना गरिएको उनको भनाइ छ। फिल्मको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।

Leave a Reply