काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आइपुगेको छ। शुक्रबार रिलिज गरिएको ट्रेलर दुई दिनमै २१ लाख भन्दा बढी पटक हेरिएपछि ट्रेन्डिङको एक नम्बरमा उक्लिएको हो।
आमा–छोराको भावनात्मक सम्बन्ध र सहरमा एउटा युवकले गर्ने संघर्षको कथा समेटिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन्। लामो समयपछि नेपाली फिल्मको ट्रेलर ट्रेन्डिङको पहिलो नम्बरमा आएको हो।
ट्रेलरमा हालसम्म ६५ हजारभन्दा बढी लाइक र १२ सयभन्दा धेरै सकारात्मक प्रतिक्रिया (कमेन्ट) आएका छन्। धेरै दर्शकले यसको कथावस्तु र कमेडी फ्लेभरको प्रशंसा गर्दै फिल्मप्रति ठूलो अपेक्षा राखेका छन्।
“दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ। आम नेपालीले आफ्नो जीवनसँग मेल खाने कथा यसमा पाउनेछन्, सिनेमा पनि यसैगरी मन पराइदिनुहुनेछ भन्ने विश्वास छ।”
बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी माघ १ गते देखि देशभर प्रदर्शन हुँदैछ।
मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटीका साथमा विनोद न्यौपाने, बुद्धि तामाङ, निर्मल शर्मा, माओत्से गुरुङ लगायतको अभिनय छ।
शिवराम श्रेष्ठको छायांकन, विपीन मल्लको सम्पादन र योगेश काजी शाहको पार्श्व संगीत रहेको फिल्मलाई श्री ब्याकटेस इन्टरटेनमेन्ट ले वितरण गर्दैछ।
News Filmy Newsportal / Nepal