१२ वर्षपछि प्रवीण श्रेष्ठको कमब्याक फिल्म ‘बब डाई’को छायांकन सकियो

काठमाडौं । फिल्म ‘मोक्ष’पछि १२ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका प्रवीण श्रेष्ठको नयाँ फिल्म ‘बब डाई’को छायांकन सम्पन्न भएको छ । बिहीबार कीर्तिपुरमा अन्तिम दृश्य खिच्दै ४२ दिनमा फिल्मको सम्पूर्ण छायांकन पूरा गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्मको छायांकन कीर्तिपुरसँगै चन्द्रागिरी क्षेत्रमा गरिएको हो । स्क्रिप्टअनुसारका सबै दृश्य खिचिसकिए पनि दुई गीतको छायांकन भने बाँकी रहेको जनाइएको छ ।

रोटेपिङ इन्टरटेन्मेन्टको प्रस्तुति तथा श्रीराम बालाजी फिल्म्सको सहकार्यमा निर्माण भएको यस फिल्ममा सौगात मल्ल, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, यमन श्रेष्ठ र कृष्णभक्त महर्जनलगायतको अभिनय रहेको छ । फिल्ममा सौगात मल्लले ‘बब डाई’को मुख्य भूमिका निर्वाह गरेका छन् । नेवारी भाषामा ‘दाइ’लाई ‘डाई’ भनिने भएकाले फिल्मको शीर्षक ‘बब डाई’ राखिएको हो ।

राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता रहेको फिल्मको कथा तथा पटकथा मैनिषा गौचन र निर्देशक प्रवीण श्रेष्ठले लेखेका हुन् । श्याम तामाङ छायाँकार रहेको फिल्मको सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गर्नेछन् ।

फिल्ममा किरण थापा र सृष्टि महर्जनको कोरियोग्राफी तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ । ‘बब डाई’ले कीर्तिपुरको मौलिक कथा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

Leave a Reply