काठमाडौं । नयाँ फिल्म ‘बम बिहारी’ को बुधबार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायांकन समेत प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ ।
डीएमएस मल्लको निर्देशन रहने यस फिल्मको छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थान र नेपालगन्जमा गरिनेछ । फिल्मको कथावस्तु नेपाली आमा र भारतीय बाबुको एक छोराको जीवनमा केन्द्रित रहेको निर्देशक मल्लले जानकारी दिए ।
“‘बम बिहारी’ एक पात्रको नाम हो र फिल्मको सम्पूर्ण कथा सोही पात्रको वरिपरि घुम्नेछ । यसले पारिवारिक र सामाजिक पक्षलाई उजागर गर्नेछ ।”
फिल्ममा सुरवीर पण्डित, सुमन ज्योति न्यौपाने ल्यांग्री दादा, ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । निर्देशक मल्लकै कथा र लगानीमा निर्माण हुन लागेको यस फिल्ममा अन्य मुख्य विशेषताहरू यसप्रकार छन्स्
रामेश्वर हुमागाईंको टिमले फिल्म खिच्दैछ । सुरेन्द्र बसेलले नृत्य निर्देशनको जिम्मेवारी सम्हालेका छन् । गौतमराज खड्काले फिल्म सम्पादन गर्नेछन् ।
फिल्मले फरक राष्ट्रियता भएका बाबुआमाका सन्तानले भोग्ने कथालाई मौलिक ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
News Filmy Newsportal / Nepal