काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा बनेको फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा १ मिनेट २९ सेकेन्ड लामो एक्सनप्रधान टिजर सार्वजनिक गरिएको हो।
मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको टिजरले मधेसमा हुने अपराध, सामाजिक संरचना र पारिवारिक सम्बन्धको झल्को दिन्छ । टिजरमा दाइजो प्रथा र दाजु–बहिनीको सम्बन्धसमेत समेटिएको छ ।
मुख्य अभिनेता सम्राट दास टिजरमा प्रभावशाली अवतारमा देखिएका छन् । निर्देशक रोशन दासका अनुसार ‘प्रतिवैरम’ सम्राट दासको डेब्यु फिल्म हो । उनले यो भूमिका सम्राटको करियरका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन् ।
फिल्ममा सम्राट दास, सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, विक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह र रामेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका सह–निर्देशक सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल हुन् । रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा फिल्म निर्माण गरेको हो । प्रोडक्सन म्यानेजर कमल सुनार र लाइन प्रोडक्सन प्रमुख पंकज महतो रहेका छन् । सम्पादन कविर वोडले गरेका छन् ।
निर्देशक दासका अनुसार मधेसका वास्तविक कथा, सामाजिक–राजनीतिक समस्या र जीवनशैलीलाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको हो । फिल्मको कथा निर्देशक दासकै हो भने पटकथा युवराज भट्टराईले लेखेका छन् ।
निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठमा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा बनेको यो फिल्म बहुभाषिक स्वरूपको छ । फिल्मको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ ।
News Filmy Newsportal / Nepal