काठमाडौँ । नेपाली फिल्म ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चा पाएको फिल्मले एक्सन, ड्रामा र भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ ।
नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति र प्राविधिक पक्षमा नयाँपन ल्याउने निर्माण पक्षको भनाइ छ । फिल्मले मध्यपूर्वसहित अन्तर्राष्ट्रिय बजारका नेपाली दर्शकमाझ पनि सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको ‘एक्लो–१’ ले गत डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्कस्थित म्युजियम अफ द मुभिङ इमेजमा प्रिमियर गरिएको थियो । साइन्स–फिक्सन विधामा बनेको यो फिल्म शाहीको तेस्रो निर्देशन हो । उनी बेलायतमा रहेर फिल्म निर्माणमा सक्रिय छन् ।
फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय छ । बेलायती अभिनेता जेमी बेकन पनि फिल्ममा देखिनेछन् ।
एनआरएन समूहको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् । फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका छन् । द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ले सम्हालेका छन् ।
News Filmy Newsportal / Nepal