काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भोली बिहीबारदेखि प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ प्रदर्शनमा आउँदैछ । नेपालको पहिलो भनिएको साइन्स-फिक्सन जनरामा आधारित यस फिल्मले घरेलु मल्टिप्लेक्सहरूमा औसत शो प्राप्त गरेको छ । बुधबार बेलुकासम्मको तालिका अनुसार फिल्मले देशभर जम्मा १२४ शो पाएको छ ।
स्टार भ्यालु र हाइपका आधारमा प्रदीप खड्काको फिल्मका लागि यो शो संख्या अपेक्षाभन्दा न्यून मानिएको छ । यतिबेला हलहरूमा ‘धुरन्धर’, ‘झरीपछिको इन्द्रेणी’ र ‘परान’ जस्ता फिल्महरूले सुखद व्यापार गरिरहेकाले पनि ‘एक्लो’ लाई केही दबाब परेको देखिन्छ ।
प्रदीप शाहीको निर्देशनमा तयार भएको १४० मिनेट लामो यो फिल्मले नेपालमा विज्ञान कथा (साइन्स-फिक्सन) प्रति दर्शकको रुचि पुनः परीक्षण गर्नेछ । यसअघि सन् २०१६ मा नवीन अवल निर्देशित फिल्म ‘बिजुली मेसिन’ रिलिज भएको थियो, जसलाई नेपालको सम्भवतः पहिलो साइन्स-फिक्सन फिल्म मानिन्छ । त्यसको ९ वर्षपछि सोही विधालाई पछ्याउँदै ‘एक्लो’ आएको हो । यसका लागि फिल्मको ‘वर्ड अफ माउथ’ बलियो हुनुपर्ने देखिन्छ ।
बिहीबारदेखि नै हलमा दुई विदेशी फिल्महरू पनि रिलिज हुँदैछन् ‘४५’ (दक्षिण भारतीय फिल्म) शिव राजकुमार स्टारर यो एक्सन फिल्मले देशभर ८७ शो पाएको छ । ‘द हाउसमेड’ (हलिउड): सिड्नी स्विनी स्टारर यो थ्रीलर फिल्मले भने देशभर ३६ शो मात्र पाएको छ । यो फिल्म एक धनाढ्य जोडीको सुसारे बनेकी युवतीको कथामा आधारित छ ।
घरेलु बक्स अफिसमा नेपाली फिल्महरूको पकड बलियो भइरहेका बेला ‘एक्लो’ ले वैयक्तिक र जनरागत रूपमा कस्तो प्रभाव पार्छ भन्ने कुरा फिल्मको ओपनिङ र दर्शकको प्रतिक्रियामा निर्भर हुनेछ ।
News Filmy Newsportal / Nepal