फिल्म ‘कुमारी’ को लोक शैलीको गीत ‘डोको बुन्ने’ सार्वजनिक

काठमाडौं । लभस्टोरी फिल्म निर्देशनमा कहलिएका दिनेश राउतको नयाँ फिल्म ‘कुमारी’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । राजधानीको वान सिनेमाजमा बुधबार आयोजित कार्यक्रममा लोक शैलीको गीत ‘डोको बुन्ने’ रिलिज गरिएको हो । यसअघि सार्वजनिक ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले चर्चा बटुलिसकेका छन् ।

सार्वजनिक गीतमा केहर सिं लिम्बुको स्वर र सुमन तामाङ र केहरकै संगीत छ । शिशिर खातीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैली र प्रेम भावमा देखाइएको छ ।

‘आई एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेम कथा निर्देशन गरेका दिनेश राउत पछिल्लो समय ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित थिए । उनले कार्यक्रममा बोल्दै लामो समयपछि पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए । “यो गीतले फिल्मको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्छ,” उनले भने ।

फिल्ममार्फत अबिषेक र आकृतिले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । आकृतिले फिल्मको टिम र स्क्रिप्ट मन परेर डेब्युका लागि ‘कुमारी’ रोजेको बताइन् । यस्तै, कार्यकारी निर्माता केदार भुसालले ‘भ्यालेन्टाइन डे’ को छेको पारेर रिलिज हुन लागेको यो फिल्मले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे ।

अबिषेक र आकृतिका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की लगायतको अभिनय छ ।

महेन्द्र अधिकारी निर्माता रहेको फिल्मको कथा विकास सुवेदीले लेखेका हुन् । फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।

फिल्मलाई काठमाडौं उपत्यकामा डिसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युशनले वितरण गर्नेछन् ।

Leave a Reply