काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी फिल्महरूको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरेको छ । सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका पुराना फिल्महरूलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले यो प्रक्रिया अगाडि बढाएको हो ।
यस कार्यमा सहभागी हुन चाहने सम्बन्धित फिल्म निर्माता वा अधिकार प्राप्त व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र बोर्डमा आवेदन दिनुपर्नेछ ।चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पुराना फिल्महरू नेपाली समाजको सांस्कृतिक र ऐतिहासिक धरोहर भएको बताउँदै तिनको डिजिटाइजेशन अत्यावश्यक रहेको उल्लेख गरे ।
“पुराना स्वदेशी फिल्महरू केवल मनोरञ्जन मात्र होइनन्, ती हाम्रो समाज, समय र इतिहासका दस्तावेज हुन् । डिजिटाइजेशनमार्फत यस्ता फिल्मको संरक्षण गर्नु आजको आवश्यकता हो । यस कार्यक्रमले हराउँदै गएका फिल्महरूलाई सुरक्षित राख्दै नयाँ पुस्तासम्म पुर्याउन सहयोग पुग्नेछ ।”
डिजिटाइजेशनका लागि आवश्यक सर्त तथा आवेदन फाराम बोर्डको आधिकारिक वेबसाइट www.film.gov.np मा उपलब्ध छ ।पुराना फिल्महरूको दीर्घकालीन संरक्षण, अध्ययन–अनुसन्धानमा सहयोग र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको पहुँच विस्तार गर्ने बोर्डको लक्ष्य छ ।
यस कार्यक्रममार्फत दशकौँअघिका फिल्महरूलाई आधुनिक प्रविधिमा ल्याएर मेटिने डरबाट जोगाउन सकिने विश्वास लिइएको छ ।
News Filmy Newsportal / Nepal