काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेतादेखि सगरमाथाको चुचुरोसम्म पुगेकी कविता नेपाली अब अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदैछिन् । नेपालकै पहिलो भनिएको साइन्स–फिक्सन फिल्म ‘एक्लो’ मार्फत उनले ठूलो पर्दामा डेब्यु गर्न लागेकी हुन् ।
आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा कविताले ‘एरियल’ नामक शक्तिशाली कमान्डोको भूमिका निर्वाह गरेकी छन् ।
सुरुमा निर्देशक प्रदीप शाहीसँग एउटा सानो एक्सन दृश्यका लागि मात्र कुरा भए पनि कविताको अडिसनबाट प्रभावित भएर उनको भूमिका विस्तार गरिएको हो । आफूलाई ‘एक्सिडेन्टल एक्टर’ भन्न रुचाउने कविता अब भने अभिनेत्रीको परिचयलाई नै अगाडि बढाउने लक्ष्यमा छिन् ।
“पहिलो फिल्म फ्लप भयो भने करिअर सकिन्छ भन्ने कुरा सुन्दा डर लाग्छ,” कविताले आफ्नो अनुभव सुनाउँदै भनिन्, “फिल्मले कस्तो व्यापार गर्छ भन्नेमा अलिक कौतुहल्ता र कन्फ्युजन पनि छ, तर फिल्मको मेकिङ र टेक्निकल पक्ष निकै बलियो छ ।”
फिल्मको छायांकनका क्रममा मुस्ताङको ५ हजार मिटरभन्दा माथिको उचाइमा एक्सन दृश्य खिच्नु निकै चुनौतीपूर्ण रहेको उनले बताइन् । रातभर सुटिङ गर्दा लेक लाग्ने समस्या भए पनि आफ्नो ‘खेलाडी ब्याकग्राउन्ड’का कारण ती कठिन परिस्थितिलाई सहज बनाउन मद्दत मिलेको उनको भनाइ छ ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘एक्लो’ मा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, सुरजसिंह ठकुरी लगायतको अभिनय छ । फिल्ममा बेलायती अभिनेता जेमी बेकनको पनि विशेष भूमिका रहेको छ । एनआरएन समूहको लगानीमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
News Filmy Newsportal / Nepal